काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकासहित देशभरी नै चिसो बढेको छ । पछिल्लो दुई दिनमा देशका धेरै ठाउँको तापक्रम १ देखि ५ डिग्री सेल्सियससम्म झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार जुम्लामा तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको छ । यस्तै काठमाडौंमा एकै दिन तापक्रम ४ डिग्रीले झरेको छ । न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम मंगलबार ११ दशमलव ५ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । जाडो सुरु भैसकेकाले अब दिनदिनै न्यूनतम तापक्रम घटेर चिसो बढ्नेछ ।
मंगलबार पहाडी क्षेत्र बाहेक देशका सबैजसो ठाउँको मौसम सफा रहने मौसमविद्ले अनुमान गरेका छन् । पहाडी क्षेत्रका एक दुई ठाउँमा आशिंक बदली भइ क्षणिक वर्षा हुने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । उहाँका अनुसार अरु ठाउँको मौसम भने सफा हुनेछ ।
भैरहवामा भने न्यूनतम तापक्रम २२ दशमलव ४ डिग्री सेल्सियस छ । काठमाडौंको तापक्रम मंगलबार दिउँसो २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
प्रतिक्रिया