कान्दाहार, ३ कात्तिक ।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ ।
दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए । सो आक्रमणमा परी ४३ जना सैनिक मारिएका थिए ।
सो क्षेत्रमा बिहीबार साँझैदेखि ठूलो सङ्ख्याका सैनिक खटाइएको छ । उक्त सैनिक पोष्ट हाल अफगान सेनाकै कब्जामा रहेको छ भने सुरक्षा अवस्था पनि सामान्य बन्दै गएको बताइएको छ ।
तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सो सैनिक पोष्टमा हमला गरेका थिए । बुधबार राति रातभर भएको भिडन्तमा ४३ जना सैनिकको ज्यान जानुका साथै अरु कैयौँ घाइते पनि भएका थिए ।
तालिबानहरुले उक्त जिल्लाका छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको बताइएको छ । ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन् ।
ती दुई जिल्लामा तालिबानले गएको सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यहरुको ज्यान गएको थियो । (रासस÷सिन्ह्वा)
३ कार्तिक २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया