चुरामणी अर्याल, जितपुर, कपिलवस्तु, २८ असोज ।
सबैभन्दा बढी सारस पाइने जिल्लाका रूपमा परिचित कपिलवस्तु पछिल्लो समय सारसको मुख्य प्रजनन केन्द्र बन्न थालेको छ । विश्वमै लोपोन्मुखको सूचीमा परेको दुर्लभ पक्षी सारसले यहाँ आफ्नो प्रजनन केन्द्र बनाउन थालेको हो ।
पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रहेका ४०० मध्ये कपिलवस्तु, रूपन्देही र नवलपरासीमा मात्रै २५० भन्दा बढी सारस भएको बताइन्छ । त्यसकारण पनि यो जिल्ला सारसको मुख्य प्रजननको केन्द्र बन्दै गएको हो । जिल्लाको विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल छेउछाउमा केही वर्षयता सारस आउने क्रम बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।
आहार विहार पाइने र सुरक्षित महसुस गरेपछि सारसको संख्या बढेको उनीहरूकोे भनाइ छ । उड्न सक्ने चरामध्ये सबैभन्दा अग्लो सारस अहिले कपिलवस्तुका विभिन्न स्थानमा अण्डा पार्ने र बच्चा कोरल्न व्यस्त देखिएका छन् । विशेषगरी सारसले असोज र कात्तिक महिनामा अण्डा पार्ने र बच्चा कोरल्ने गर्छन् ।
कपिलवस्तुको कुदान क्षेत्रमा सारसले अण्डा दिएका छन् भने गोटिहवा क्षेत्र नजिक सारसले आफ्ना बच्चा चराउँदै हिँडेको देखिन्छ । त्यस्तै यशोधरा गाउँपालिकाको सिहोखोर, गोटिहवाको पोखरी, निग्लिहवाको नहरका पूर्व धानखेतलगायतका स्थानमा ओथारो बसेका छन् ।
सामान्य खतराबाट जोगिन चारैतिर पानी रहेको पोखरीको बीचमा झारपात राखेर उँचो बनाई सारस ओथारो बसेका छन् । सारस ओथारो बसेको ३१ देखि ३४ दिनभित्रमा बच्चा जन्माउने चराविद् डा हेमसागर बरालले जानकारी दिनुभयो ।
प्रतिक्रिया