९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सवारी साधन लामबद्ध



चितवन, १८ भदौ ।
शनिबार बेलुकादेखि परेको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । ती ठाउँमा राति १२ः३० बजे पहिरो खसेको हो । पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर बाटो पन्छाउने काम सुरु गरेको थापाले बताउनुभयो । मुग्लिनबाट फिस्लिङ १२ किमी काठमाडौँतर्फ पर्छ भने घोप्टेभिर झण्डै दुई किमी पर्छ ।
यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला, मुग्लिनको मुखलगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पूरै सडक छिचोल्न नसकेकाले के कति ठाउँमा पहिरो खसेको छ । यसको जानकारी आइनसकेको थापाले बताउनुभयो ।
सडकमा पहिरो खसेका ठाउँमा लेदो बगिरहेको र पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो परिरहेको थापाले बताउनुभयो ।
स्तरोन्नतिका क्रममा रहेकाले पहिरो खस्ने क्रम बढी हुँदा रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । रातभर रोकिएर बसेका सवारी साधन बिहान पनि पहिरो खसेर सडक अवरुद्ध भएपछि अलपत्र परेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  २ : ०४ बजे