३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा



काठमाडौं, २४ साउन ।
प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ । त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन् । प्रदेश २ मा पार्टीको स्थिति मजबुत रहेको र पहिलो स्थान नै हासिल गर्ने सम्भावना रहेको ती नेताहरूले केन्द्रलाई रिपोर्टिङ गरेका छन् ।
‘राजपाले चुनावमा आउने र नआउने अझै स्पष्ट गरिसकेको छैन तर उसलाई चुनावमा ल्याउनुपर्छ भनेर हामी पनि लागिरहेका छौं,’ प्रदेश २ को चुनावी माहोल बुझेर फर्केका एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘चुनावमा आउने भयो भने स्थानीय आवश्यकताअनुसार राजपासँग पनि तालमेल गरेर जान सकिन्छ ।’ प्रमुख प्रतिस्पर्धी दल भएकाले कांग्रेससँगको तालमेलको सम्भवना नरहेको तर अन्य जुनसुकै दलसँग मिल्ने सक्ने एमालेको धारणा छ । राजपासँगको सम्बन्ध सुधारका लागि एमाले नेताहरूले उनीहरूसँग औपचारिक छलफल जारी राखेका छन् ।
राजपा चुनावमा नजाँदा तराईमा लोकतान्त्रिक शक्ति नै कमजोर हुने भन्दै बहिष्कारको बाटोमा नजान एमाले नेताहरूले सुझाव दिइरहेका छन् । राजपाले उठाएको संविधान संशोधनलगायत विषयलाई चुनावपछि सम्बोधन गर्न सकिने उनीहरूले आश्वासन दिइरहेका छन् । विशेष गरी कांग्रेस र माओवादी केन्द्र गठबन्धनले राजपालाई चुनावमा सहभागी हुन नदिने षड्यन्त्र गरिरहेको भन्दै एमाले नेताहरूले उनीहरूलाई मनाउने प्रयास गरिरहेका छन्। अध्यक्ष केपी ओलीले गत साता एक सार्वजनिक कार्यक्रमबाटै राजपा नेतालाई चुनावमा सहभागी हुन नदिन कांग्रेसले नै षड्यन्त्र गरिरहेको र यो बुझेर चुनावमा आउन राजपा नेताहरूलाई ध्यानाकर्षण गराएका थिए ।
एमालेको प्रदेश २ को प्रारम्भिक चुनावी रिपोर्टिङअनुसार यसअघिका दुई चुनावजस्तै बहुमत स्थानमा जित्ने दाबी नेताहरूले गरेका छन् । महासचिव ईश्वर पोखरेललगायत केन्द्रीय पदाधिकारीलाई जिल्ला नै तोकेर प्रारम्भिक चुनावी तयारी र स्थानीय स्थितिबारे अध्ययन गर्ने जिम्मा दिइएको थियो। उनीहरूले त्यहाँ पुगेर भेला र बैठकहरू गरेका थिए । पार्टीको अवस्था अधिकांश स्थानमा पहिलेको भन्दा सुध्रिएको र बहुमत स्थान जित्ने आधार तयार भइसकेको आकलन उनीहरूले गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १ : २७ बजे