१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बिहीबार



काठमाडौँ,  साउन २२ गते । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक यही साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ ।
बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेशमन्त्रीले त्यसमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।  बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले पहिलोपटक उक्त बैठक आयोजना गर्न लागेको हो ।
भारत, भुटान, बङ्गलादेश, थाइल्यान्ड, म्यान्मा र श्रीलङ्का सदस्य रहेको उक्त उपक्षेत्रीय सङ्गठनको चौथो शिखर सम्मेलन काठमाडाँैमा आयोजना गर्ने निर्णय मन्त्रीस्तरीय बैठकले गर्ने सम्भावना छ ।
बैठकमा भाग लिन भारतका विदेशमन्त्री सुषमा स्वराज, श्रीलङ्काका विदेशमन्त्री रवि करुणनायके, बङ्गलादेशका विदेशमन्त्री अबुल हसन महमुदअली र भुटानका विदेशमन्त्री दाम्चो दोर्जी आगामी बिहीबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।  थाइल्याण्ड र म्यान्माबाट भने उपविदेश मन्त्रीस्तरीय बैठकमा सहभागिता हुनेछ ।
सोही दिन सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको १८औँ बैठक (एसओएम) हुनेछ ।  परराष्ट्र सचिव शङ्करदास बैरागीले उक्त बैठकको नेतृत्व गर्नुहुनेछ ।
मन्त्रीस्तरीय बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतङ्कवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अपराह्न राजधानीमा बैठकको उद्घाटन एवं त्यसलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नुहुनेछ ।  साथै उहाँले प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार नै रात्रिभोज आयोजना गर्नुहुनेछ ।
दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ६ : १९ बजे