१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

चितवनकै छोरी र बुहारी रेणु



चितवन, २२ साउन ।
२०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (अहिलेको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिनुभएकी भरतपुर महानगरका नवनिर्वा्चित मेयर रेणु दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुनुहुन्छ । २०५१ सालमा पार्टी प्रवेश गर्नुभएकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत हुनुभएको थियो ।
प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसक्नुभएकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव हुनुहुन्छ । दाहाल काठमाडौंको जिल्ला सहसचिव हुँदै अहिले पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।
चितवनमै प्रवेशिकासम्मको अध्ययन गर्नुभएकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् हुनुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित हुनुभएको थियो ।
दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो । हाल उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँ भरतपुर महानगरपालिका–१० मा बस्दै आउनुभएको छ ।
बुवा प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लाग्नुभएकी दाहाल आफूले राजनीतिक प्रेरणा बुवाबाट नै पाएको बताउनुहुन्छ । नेपाली काँग्रेसको प्रभाव रहेको महानगरमा काँग्रेसकै समर्थन पाएपछि दाहाल प्रमुखमा विजयी हुनुभएको हो । जिल्ला बाहिर बसेर राजनीति गर्दै आउनुभएकी दाहालका लागि चितवनको राजनीति भने नयाँ हो ।
यस्तै विसं २०२४ भदौ ४ गते साबिकको गुञ्जनगर गाविस–४ (भरतपुर महानगरपालिका–१८) मा जन्मनुभएकी उपमेयर पार्वती शाहले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । बुवा कृष्णबहादुर शाह र आमा देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मनुभएकी शाहले कक्षा दशसम्मको अध्ययन गाउँमै गर्नुभएको थियो ।
प्रवीणता प्रमाणपत्र तह अध्ययनका क्रममा भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएकी शाह साबिक भरतपुर नगरपालिका–१२ को तरुणदल अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हँुदै काठमाडौंमा गठित नारायणी–बागमती अञ्चलको सम्पर्क समितिको निर्वा्चित अध्यक्षसमेत भएर काम गरिसक्नुभएको छ ।
अहिले उहाँ नेपाल महिला संघ, चितवनको अध्यक्ष हुनुहुन्छ । शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव जस्तो जिम्मेवारीसमेत बहन गरिसक्नुभएको छ । विसं २०६२÷०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताउनुभएकी शाह नेपाली कांग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिसक्नुभएको छ । रासस

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  २ : ०९ बजे