काठमाडौं, साउन १५ ।
बाणिज्य बैंकहरुले स्थानीय तहमा शाखा खोल्ने प्रक्रिया अगाडि बढाएका छन् । पहिलो चरणमा २ सय ४४ वटा स्थानीय तहमा बैंकको शाखा स्थापना गर्नुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको बाणिज्य बैंकले जनाएका छन् ।
नेपाल राष्ट्र बैंकले कहाँ कुन बैकले शाखा खोल्ने भन्ने स्वीकृत गरिसकेकाले प्रक्रिया सुरु भएको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल शाहले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा बैंक गएको ठाउँमा अर्को बैंकको शाखा नखोल्ने सहमति गराई बैंकहरुबिच क्षेत्र बाँडफाँट गरिएको छ ।
जसअनुसार प्रभु बैंकले सबैभन्दा धेरै ३१ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने भएको छ भने सबैभन्दा कम एनआइसी एसियाले पाँचवटा स्थानीय तहमा मात्र शाखा खोल्ने भएको छ । ७ सय ४४ स्थानीय तहमध्ये ३ सय ३२ वटा स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।
पहिलो चरणमा २ सय ४४ वटा स्थानीय तहमा शाखा खोलेपछि बाँकी रहने १ सय ६८ स्थानीय तहमा बैंकको शाखा खोल्न बाँकी रहनेछ । सरकारले मौद्रिक नीति २०७४/०७५ मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विकट जिल्लाका सदरमुकाम बाहिर शाखा खोलेमा प्रत्येक शाखालाई १ करोड रुपैयाँ सापटी दिने घोषणा गरेको छ ।
प्रतिक्रिया