७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

धान उत्पादन घट्ने सम्भावना



काठमाडौं, साउन १४ । 

पर्याप्त वर्षा हुन नसकेका कारण अझै ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन नसकेकाले यस वर्ष धानको उत्पादन घट्न सक्ने सम्भावना देखिएको छ ।

धान रोप्नयोग्य जम्मा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर जमिनमध्ये असार ९ गतेसम्म मुलुकभर १० लाख ६० हजार १ सय ३२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । अझै वर्षा हुने हो भने साउन मसान्तभित्र धान रोपाइँ गर्न सकिन्छ ।

चार लाख ९२ हजार ३ सय ३७ हेक्टर जमिन रोपाइँको लागि तयार भए पनि वर्षा नभएका कारण बाँझो छ । कुल गार्हस्थ्य उत्पानदनमा धानको योग्दान १२ प्रतिशत छ भने कूल कृषि क्षेत्रको उत्पादनमा धानको योगदान २१ प्रतिशत छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन भने ३३ प्रतिशत छ ।

मुलुकभर औपचारिक रुपमा धान रोपाइँ शुरु भएको शनिबार एक महिना पुगेको छ । यस अवधिमा ६८ दशमलव दुइ नौ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

कृषि विकास मन्त्रालयले औपचारिक रुपमा असार १५ गते भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका झौँखेलबाट ‘दुईवाली धानको बिस्तार आर्थिक समृद्धिको आधार’ भन्ने अभियानका साथ १४ औँ राष्ट्रिय धान दिवस सुरुगरेको थियो ।

नेपालमा विसं २०६१ देखि राष्ट्रिय धान दिवस मनाउने चलन चलेको हो । हालसम्म सतप्रतिशत रोपाइँ हुनेमा जुम्ला, डोल्पा, हुम्ला, बझाङ, कैलाली र कञ्चनपुर जिल्ला हुन् ।

जुम्लामा दुई हजार ९००, डोल्पामा २०२, हुम्लामा ५८७, बझाङमा सात हजार १००, कैलालीमा ७१ हजार ७०० र कञ्चनपुरमा ४८ हजार ४९६ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौंमा छ हजार ४१७, भक्तपुर तीन हजार ४८२ र ललितपुरमा तीनहजार ७४४ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ ।

तीन जिल्लामध्ये काठमाडौँमा सात हजार १३०, भक्तपुरमा चार हजार ३५२ र ललितपुरमा चारहजार ६८० हेक्टर जमिनमा धानखेती गर्न सकिन्छ । काठमाडौं, भक्तपुर र लतितपुरमा ब्यापकरुपले घरनिर्माण भएका कारण धान रोप्न योग्य जमिन घटिरहेको कृषि विकास मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा र मोरङ हो । उक्त जिल्लामा समेत उत्साहपूर्वक रोपाइँ हुनसकेको छैन । झापामा ५६ हजार ८७५ हेक्टर र मोरङमा ३५ हजार २०० हेक्टरमा मात्र धान रोपाइँ भएको छ ।

मोरङमा ८८ हजार हेक्टर र झापामा ८७ हजार ५०० हेक्टर जमिनमा धान रोपाइँ हुदै आएको थियो । नेपालको ७५ जिल्लामध्ये हिमालपारीका दुइ जिल्ला मनाङ् र मुस्ताङ्मा भने धानरोपाइँ हुँदैन । मनाङ र मुस्ताङ उच्च हिमाली क्षेत्र भएकाले त्यहाँ धान रोपाइँ हुन नसकेको हो ।

सुदूरपश्चिमाञ्चल क्षेत्रको उच्च पहाडी जिल्ला डडेलधुरा, डोटी, बैतडी र अछामा जिल्लामा धान रोपाइँ सन्तोषजनक छ । उक्त जिल्लामा झण्डै ९७ प्रतिशत रोपाइँ सकिएको छ । डडेलधुरामा छ हजार १६४, डोटीमा नौ हजार ९२९ बैतडीमा सातहजार ५२० र अछाममा १५ हजार ७५९ हेक्टर जमिनमा रोपाइँ भएको छ ।

त्यसैगरी प्रमुख धान खेती हुने जिल्लामा क्रमशः चितवनमा ८०, रौतहटमा ६५, बारा, पर्सामा ९०, सर्लाहीमा ४०, महोत्तरी ३०, धनुषा २५ मकवानपुर ८३, सिराहा २५ र सप्तरीमा ४० प्रतिशतमा मात्र धानरोपाइँ सकिएको छ । कृषि बिकास मन्त्रालयका सह–प्रबक्ता शंकर सापकोटाले धान नेपालको प्रमुख बाली भएको उल्लेख गर्दे आव ०७३/०७४ मा १५ लाख ५२ हजार हेक्टर जमीनमा धान खेती गरी ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको बताउनुभयो ।

नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती गरिँदै आएको छ । धानको उत्पादनमा १० प्रतिशतले वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत बढ्छ । धानको उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ भने घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तल झर्छ ।

कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धान उत्पादन कार्यक्रम अगाडि बढाएको छ । झापालाई धान उत्पादनको सुपरजोन क्षेत्रसमेत घोषणा गरिएको छ ।

सरकारले किसानलाई बृहत्तर धान उत्पादन कार्यक्रममा सहभागी हुँदा ५० हजार रुपैयाँ, चैते, मसिनो बास्नादार उत्पादनमा पाँच हजार रुपैयाँ अनुदान दिने नीति लिएको छ । अहिलेसम्म यहाँ ८१ प्रकारका धानका जातको खेती हुदै आएको छ ।

नेपालमा वार्षिक लगभग ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ नेपालको जुम्ला जिल्लाको छुमचौर हो । त्यहाँ जुम्लीमार्सी धानखेती गरिन्छ । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी छ । रासस

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  १२ : १४ बजे