१५ आश्विन २०८१, मंगलबार | Tue Oct 1 2024

अवैध रूपमा पुस्तक छाप्दा साझा करोडौं घाटामा



काठमाडौं, १२ साउन ।
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाकै लोगो अवैध रूपमा प्रयोग गरी संस्थालाई करोडौं नोक्सानी र्पुयाइरहेको तथ्य फेला परेको छ । शर्माले कक्षा ११ र १२ मा पढाइ हुने ’सबैको नेपाली’ र ’एक चिहान’, ’लिंक इङ्लिस’ पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो ।
यी तीनैवटा पुस्तक कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थी सबैले पढ्नैपर्छ । साझा बाहिरबाट छापिएको पुस्तक बिक्री गर्दा लेखकले पाउने २० प्रतिशत र साझाले पाउने नाफा १५ प्रतिशत गरी एउटा पुस्तकमा ३५ प्रतिशत नोक्सान भएको छ। ’सबैको नेपाली’ को मूल्य ३०० रुपैयाँ छ ।
साझाले आफ्नो प्रकाशनमा एक हजार प्रतिभन्दा कम पुस्तक खरिदमा २५ प्रतिशतसम्म छुट दिन्छ । तर, साझाकै प्रकाशन बजारमा ३० प्रतिशतसम्म छुटमा बिक्री भइरहेका छन् । यसले पनि साझाले निजी प्रकाशन गृहबाट पुस्तक प्रकाशित गरेको देखाउँछ ।
साझाबाट प्रकाशित हुने ’सबैको नेपाली’ पुस्तक प्रकाशन गर्दा लागत खर्च तथा लेखकको रोयल्टीसमेत तिर्दा दुई गुणा बढीमा बिक्री हुने गरेको छ । तर निजी छापाखानाबाट छापिएका पुस्तक साझाको केन्द्रीय कार्यालयमा दाखिला नगर्दा रोयल्टीलगायतका खर्चसमेत बचत भई एउटै पुस्तकबाट पर्याप्त आम्दानी हुने साझाका एक अधिकारी बताउँछन् ।
साझाको लोगो राखेर पुस्तक छाप्ने तर साझाको बिक्री केन्द्रमा दाखिला नगराई बिक्री हुँदा त्यसको रकम सीधै निजी छापाखानामा पुग्ने गरेको हो ।
साझाले यस वर्ष अनिवार्य नेपाली विषयको ’सबैको नेपाली’ ६३ हजार थान मात्र छापेको छ। यस वर्ष कक्षा ११ मा चार लाख ४८ हजार नौ सय २६ विद्यार्थी भर्ना भएका छन्। तीमध्ये आधाभन्दा बढी विद्यार्थी उपत्यकामा मात्र अध्ययन गर्ने राष्ट्रिय परीक्षा बोर्डकी उपनियन्त्रक जयन्ती सत्याल बताउँछिन् । विद्यार्थी संख्याका हिसाबले साझाको उत्पादनले उपत्यकाका विद्यार्थीको मागसमेत धान्दैन । कुल विद्यार्थी संख्याको ५० प्रतिशत संख्याले पुराना पुस्तक प्रयोग गरे पनि बाँकी पुस्तकको माग साझाको अहिलेको प्रकाशन संख्याले पूरा गर्दैन। तर बजारमा विद्यार्थीको मागअनुसार सहजै पुस्तक उपलब्ध हुने गरेको साझाका अधिकारीहरू बताउँछन् ।
साझाले यस वर्ष कक्षा ११ र १२ को अनिवार्य विषय ’सबैको नेपाली’ ६३ हजार थान छापेको थियो । तीमध्ये ४० हजार बिक्री भएको विवरण साझामा दाखिला भएको छ । त्यो पुस्तक साझाका उपत्यकाका बिक्री केन्द्र तथा उपत्यका बाहिरका क्षेत्रीय कार्यालयबाट सीमित मात्रामा बिक्री भइरहेको छ । तर, साझाको बिक्री केन्द्रभन्दा बाहिरका निजी पुस्तक पसलमा भने पर्याप्त मात्रामा पुस्तक पाइन्छ । कक्षा ११ पढ्ने धेरै विद्यार्थीको हातमा साझाबाहिरबाट छापिएका पुस्तक पुगेका छन् ।
काठमाडौंका एक पुस्तक व्यापारीले आफूले अक्सफोर्ड पुस्तक पसल, अनामनगरबाट ’सबैको नेपाली’ पुस्तक ल्याउने गरेको बताए । अक्सफोर्ड शर्माको स्वामित्वमा रहेको पुस्तक पसल हो । एनके पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स, हेरिटेज पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स, अनु बुक्स तथा विद्या बुक्सले पनि साझाका पुस्तक बिक्री गर्ने गरेको ती व्यापारीले जानकारी दिए ।
साझाका महाप्रबन्धक शर्माले भने एक हजारभन्दा कम पुस्तकको खरिदमा २५ प्रतिशत मात्र छुट पाउने बताए । पहिले १० लाखभन्दा माथिका पुस्तक खरिदमा ३५ प्रतिशतसम्म छुट दिने गरेकोमा हालै बसेको सञ्चालक समिति बैठकले ३० प्रतिशतभन्दा बढी छुट नदिने निर्णय गरेको शर्माको दाबी छ । तर साझाका कर्मचारी भने यस विषयमा कुनै परिपत्र नआएको बताउँछन् ।
उनीहरू साझाको नियमअनुसार पाँच सय थान पुस्तक खरिदमा २० प्रतिशत, एक हजारभन्दा बढी थान पुस्तक खरिदमा २५ प्रतिशत तथा दुई लाखभन्दा बढी पुस्तक खरिद गर्दा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था रहेको बताउँछन् ।
काठमाडौंका निजी पुस्तक पसलले साझाका पुस्तक ३० प्रतिशत छुटमा बिक्री गरिरहेका बेला साझाको विश्वभाषा क्याम्पसमा रहेको काउन्टरबाट भने मंगलबारसम्म दुई हजार नौ सय थान मात्रै ’सबैको नेपाली’ बिक्री भएको छ । त्यस्तै ’लिङ्क इङ्लिस’ एक हजार पाँच सय तथा ’एक चिहान’ एक हजार दुई सय मात्र बिक्री भएको साझाले जनाएको छ ।
साझा प्रकाशन क्षेत्रीय कार्यालय चितवनका अनुसार पहिलेको तुलनामा साझाको बिक्री केन्द्रबाट पुस्तक बिक्रीमा झन्डै आधा कमी आएको छ । केन्द्रले ’सबैको नेपाली’ झन्डै १५ हजार संख्यामा बिक्री हुने गरेकोमा यस वर्ष सात हजार मात्र बिक्री भएको छ । साझा चितवनले पुस्तक व्यापारीलाई पुस्तक लैजान आग्रह गर्दा व्यापारीले काठमाडौंबाट सीधै पुस्तक ल्याउने गरेको बताउने गरेका छन् । साझाबाट पुस्तक बिक्री संख्या घटे पनि निजी पुस्तक पसलमा भने सहजै पुस्तक पाइने गरेको साझा प्रकाशन चितवन शाखाले जनाएको छ ।
पूर्वको बिर्तामोड शाखामा पनि पहिलेको तुलनामा पुस्तक बिक्री झन्डै तीन गुणा कमी आएको छ । गत वर्ष बिर्तामोडबाट ६ हजार पाँच सय पुस्तक बिक्री भएकामा यस वर्ष कक्षा ११ र १२ को पढाइ सुरु भइसक्दा पनि दुई हजार पुस्तक पनि बिक्री भएका छैनन् । पूर्व क्षेत्रमा वार्षिक ३० हजारभन्दा बढी पुस्तक चाहिने बिर्तामोड शाखाले जनाएको छ ।
२०६६ देखि कक्षा ११ र १२ का पुस्तक प्रकाशन गर्दै आएको साझाले २०६८ मा ’सबैको नेपाली’ एक लाख ७५ हजार छापेको थियो । साझाले उक्त पुस्तक ०६९ मा एक लाख ५० हजार, २०७० मा एक लाख, २०७१ मा एक लाख ४५ हजार छापेको थियो भने २०७२ र २०७३ मा ५०र५० हजार र यस वर्ष ६३ हजार मात्र पुस्तक छापेको छ ।
महाप्रबन्धक शर्माले साझाको जिम्मेवारी सम्हालेदेखि साझाबाट पुस्तक प्रकाशन संख्यात्मक रूपमा कम हुँदै गए पनि कक्षा ११ र १२ पढ्ने विद्यार्थीको संख्या बढिरहेको छ । तर आश्चर्यको कुरा साझाले प्रकाशित गरेका पुस्तक साझाका बिक्री केन्द्रबाट बिक्री हुने क्रम आधाभन्दा पनि बढीले घटिरहेको छ ।
साझाका एक अधिकारी भन्छन, ’०७१ सालसम्म झन्डै डेढ लाख पुस्तक प्रकाशित गर्दा पनि बिक्री केन्द्रमा पुस्तक स्टक हुँदैनथ्यो, तर पछिल्ला वर्षमा पुस्तक प्रकाशनको संख्या घटेसँगै बिक्री संख्या पनि घट्दै गएको छ ।’ पुस्तक कम प्रकाशन हुँदा पनि बजारमा पर्याप्त हुनु र बिक्री केन्द्रबाट बिक्री कम हुनुले अन्यत्रबाटै पुस्तक ’सप्लाई’ भइरहेको पुष्टि हुने ती अधिकारी बताउँछन् ।
साझाको केन्द्रीय कार्यालयबाट उपत्यका आसपासका व्यापारीले पुस्तक खरिद गर्ने गरेकोमा यस वर्ष उपत्यका बाहिरका व्यापारी पुस्तक खरिदका लागि नआएको साझाका कर्मचारी बताउँछन ।
नागरिकमा प्रकाशित खबर छ ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  २ : ५५ बजे