७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सुत्केरीका लागि स्वास्थ्य संस्थामा जानेक्रम बढ्दो



नवलपरासी, साउन ११ ।
घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै नवलपरासीको ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थालेका छन् ।
स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जान थालेका हुन् ।
जिल्लाको दक्षिणी भेगका महिला घरमै सुत्केरी हुने गरेकामा अहिले तराई भेगका ९२ प्रतिशत महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय, नवलपरासीले जनाएको छ । विशेष गरी महिला आफ्नो पायक पर्ने सरकारी र निजी स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेको पाइएको छ ।
घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्था जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
तराई भेगका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको पहुँच रहे पनि जिल्लाको पहाडीक्षेत्रका हुप्सेकोट र बुलिङ्टार गरी दुई गाउँपालिका (साविक १३ गाविसमा) रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीलाई धेरै समस्या झेल्नु परेका छन् ।
त्यस क्षेत्रका अधिकांश स्वास्थ्य चौकी तल्लो तहका कर्मचारी वा कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् । बिरामीले गाउँमै स्वास्थ्य सेवा पाउन नसकेपछि स्थानीयवासी कावासोती, गैँडाकोट, चितवनलगायतका स्थानमा उपचार गराउन जान बाध्य छन् । रासस

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  १ : ५८ बजे