बाबुराम रायमाझी, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–९ मा रहेको साना किसान कृषि सहकारी संस्था भलवाडले आफ्नो २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले मुलुकभर सहकारी क्षेत्रमा देखिएका नकारात्मक पक्षको चर्चा गर्दै वाणगंगा नगरपालिकाको सहकारी संस्थाहरूले सकारात्मक भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।
नगरपालिकामा रहेका ६३ वटा सहकारी संस्थाहरूको अनुगमन तथा मूल्यांकन गरिसकिएको बताउँदै, उपमेयर चौधरीले भलवाडको सहकारीलाई “अब्बल कृषि सहकारी” को संज्ञा दिनुभयो । साथै, शेयर सदस्यहरूलाई लाभांश वितरणमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा वडा अध्यक्ष कमल पौडेलले सहकारीले किसानहरूले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्याउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाले सहकारीको प्रगतिका लागि वडा कार्यालय र शेयर सदस्यहरू मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा मोतिपुर साना किसान कृषि सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटा, नव प्रभात बचत तथा ऋण सहकारीका अध्यक्ष बसन्त खनाल, र संस्थाका पूर्व अध्यक्ष हरिराज घिमिरेले साधारणसभाको सफलताको शुभकामना दिनुभयो ।
साधारण सभामा संस्थाले ७५ वर्ष पूरा गरेका ४४ जना जेष्ठ नागरिक, असल ऋणी, असल बाल बचतकर्ता र असल युवा लघु उद्यमी नवराज गुरुङलाई सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष दीपक बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले शेयर सदस्यहरूको आर्थिक उन्नतिका लागि गरिरहेको प्रयासबारे प्रकाश पार्नुभयो । कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रबन्धक मान कुमारी गिरीले आर्थिक वर्ष २०८०-०८१ मा २९ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको जानकारी गराउनुभयो । लेखा संयोजक चुरामणि आचार्यले सुझावसहित लेखा प्रतिवेदन पेश गर्नुभयो ।
साना किसान कृषि सहकारी संस्था भलवाड २०५२ सालमा स्थापना भएको हो । हाल यस संस्थामा २ हजार १० शेयर सदस्य आबद्ध छन् । कृषि र सहकारी क्षेत्रको प्रगतिको लागि यो संस्था सक्रिय रहँदै आएको छ ।
साधारणसभाले सहकारीलाई आगामी दिनमा थप प्रगतिशील बनाउन योजना अघि बढाउने निर्णय गरेको छ ।
प्रतिक्रिया