मायादेवी अनलाइन, बाणगंगा ।
हिजो दिउँसो देखिनै विद्युत जाने आउने गर्दा हैरानी खेपेका बैरियाबासी रातभर भने जागराम बसेका छन् । गएको रातिदेखि विद्युत नहुँदा बैरियाबासी रातभर सुत्न सकेनन् । विहीबार दिउँसो देखिनै विद्युत जाने आउने गरेर हैरानी खेपेका बैरियाबासी राति ८ बजेदेखि पूर्ण रुपमा विद्युत बन्द हुँदा रातभरी सुत्न पाएनन् । ‘भन्नुहोस रातभरी नै लाइन नहुँदा अब के हुन्छ, बैरियाकी ईश्वरी श्रेष्ठले भन्नुभयो,’ ‘लछुप्पै भिजियो कसरी सुत्न सकिन्छ ।’
तराईमा अत्यधिक गर्मी बढेसंगै विद्युत अवरुद्ध हुँदा जनजीवन थप कष्टकर बनेको छ । विहीबार आउने जाने गरेको विद्युत गएको रातभर नै अवरुद्ध हुँदा बैरियाबासी जागै बसेका हुन् । राति १० बजेसम्म विद्युत आउछ र सहज रुपमा सुतौला भनेर बसेका बाणगंगा १ वैरियाका चेतनारायण भट्टराई विद्यूत नआउदा जीवन कष्टकर भएको बताउनुभयो । भट्टराईका अनुसार विद्युत नहुँदा रातभर डिउटी दिएर बसिरहेका छौं सुत्ने त कुरै भएन ।
‘कोठा तातेर बस्न सक्ने अवस्था थिएन, त्यसैमा विद्युत गयो कसरी बस्न सकिन्छ, वाहिर ठाउँ पनि छैन नारायण बन्जाडेले भन्नुभयो’, कोठा भाडा गरेर बस्नेलाई थप समस्या परेको छ ।’
दिनभर नै विद्युत आउने जाने गर्दा विद्युतीय उपकरण चार्ज समेत हुन सकेनन् । जसले गर्दा झन समस्या थपिएको कृष्ण घिमिरेले बताउनुभयो ।
स्थानीय गणेश घिमिरले अब तराईमा बस्न नसकिने भयो, उता लाइनको समस्या उता उखरमाउलो गर्मी । अव पुरानै ठाउँ पहाडमै फर्किनुपर्ने अवस्था आएको घिमिरेले मायादेवी अनलाइनलाई बताउनुभयो ।
विद्युत कार्यालय चारनम्बर फयुज सेवाका कर्मचारीले विद्युत बनाएपनि त्यो केहीभर टिकेन । विहीबार दिउँसो दिनभर कर्मचारीले बनाएर जान्छन् त्यसको केही बेरमा पुन विद्युत जान्छ । जसले गर्दा बैरिया क्षेत्रमा हिजो यसैगरी नै समय गुज्रेको थियो । दिनभर बैरियाको ट्रान्सफरमर बनाईराखेको कर्मचारी राती भएका कारण समस्या पत्ता लगाउन नसकेको जवाफ दिएका थिए ।
विजुलीको पोलबाट घर जाने तारमा फल्ट देखिएकाले समस्या आइरहेको बताएका थिए । विद्यूत कर्मचारी राम प्रसाद बस्यालका अनुसार विजुलीको पोलबाट घर वा कम्पनीमा लगेका तारका कारण समस्या आउनसक्ने भएकाले आज विहानबाट खोलेर हेर्नुपर्ने बताए ।
२ दिन अघिदेखि नै समस्या खेपिरहेको बैरियाबासी विद्युत कार्यालयले समयमा नबनाउदा समस्या परेको हो । वैरियामा रहेको २ सय केभिएको ट्रान्सफरमरमा लोड बढि भइरहदा समेत विद्युतको फयुज जाने गरिहरहेको छ । गर्मीयाममा विद्युतको खपत बढि हुनेहुँदा र यसबाट आउने समस्यालाई कार्यालयले समयमै ध्यान दिई आवश्यक तयारी गर्नुपर्ने समाजसेवी उमानाथ पौडेलले बताउनुभयो ।
प्रतिक्रिया