मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आँखा पाक्ने र डेंगु रोगको निःशुल्क चेकजाँचको व्यवस्था गरेको छ। डेंगु र आखाँ पाक्ने रोगको प्रकोप बढ्दै गईरहेका बेला बुद्धभूमिले नगरबासीका लागि यस्तो प्रबन्ध मिलाएको हो ।
नगरबासीको स्वास्थ्यमा पालिका सधै गम्भीर रहेको बताउँदै पालिकाले नगरबासिका लागि निशुल्क चेकजाँचको व्यवस्था मिलाएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । नगरपालिकाको ल्याब रहेको स्वास्थ्य चौकीमा डेंगुको निःशुल्क चेकजाँच हुने उनले जनाए ।
‘व्यक्तिगत तवरबाट डेंगु सङ्क्रमित लामखुट्टेको टोकाइबाट बच्न घर, कार्यालय वरपर पानी जम्न नदिने, झारी बढ्न नदिने, सङ्क्रमित व्यक्तिलाई टोक्न नदिने कुरामा विशेष ध्यान दिए पनि डेंगुको संक्रमणबाट बच्न सकिने बुद्धभुमि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु देव खनालले बताए । यस समयमा खेतबारीमा काम व्यस्त हुने र व्यक्तिको सरसफाइमा ध्यान नपुग्दा भाइरसले चाँडो आक्रमण गर्ने खनालले बताए ।
‘आँखा रातो हुनु, कोश सुनिनु लगायतका समस्या देखिनु भनेको भाइरलका कारण मात्रै सङ्क्रमण भएको ठोकुवा गर्न हुँदैन,’ उनले भने, ‘ब्याक्टेरिया सङ्क्रमण हुँदा पनि आँखा रातो हुने, आँखाको कोशहरू सुनिन सक्छ । त्यसैले जाँच गराउन जरुरी छ ।’
उनले आँखा पाक्ने रोग विषयमा जनचेतना तथा अन्य काम निरन्तर गरिरहेको जनाए ।
नगरपालिकाले वातावरण मैत्री औषधि प्रयोग गरी लार्भा नष्ट गर्ने कार्ययोजना अघि बढाउने समेत बताएको छ । वातावरणमैत्री औषधि प्रयोग गरिने भएकाले यसले अन्य कुनै पनि किटजन्य किरालाई नोक्सान नगर्ने पालिकाको जिकिर छ । नगर प्रमुख श्रेष्ठले लामखुट्टेबाट बच्नका लागि काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झूल टाँगेरमात्र सुत्न नगरवासीलाई सुझाव दिए ।
प्रतिक्रिया