काठमाडौं ।
बंगलादेशको ढाकामा भइरहेको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेपछि उपाधिको सम्भावना सकिएको छ ।
आइतबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको आफ्नो तेस्रो खेलमा नेपाल रुससँग ३–० ले पराजित भएको हो ।
बलियो टोली रुस विरुद्ध नेपालले ६२ मिनेटसम्म रक्षात्मक खेल्दै गोल गर्न दिएको थिएन । तर त्यसपछि रुसले तीन गोल ग¥यो । रुसका लागि एलिना गोलिकले ६३औं र ७४औं मिनेटमा गोल गरिन् ।
यस्तै ८३औं मिनेटमा पोलिना फिलसिनाले गोल गरिन् । गत नोभेम्बरमा बंगलादेशमै भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाल उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगे पनि दुई हारपछि सम्भावना समाप्त भएको हो ।
यसअघि नेपाल पहिलो खेलमै भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । लगातार तीन जितपछि युरोपियन टिम रुसले उपाधि सम्भावना बलियो बनाएको छ ।
तीन खेलबाट ३ अंक मात्र रहेको नेपाल पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको चौथो स्थानमा छ । नेपालले अब अन्तिम खेल घरेलु टोद्यी बंगलादेशसँग मंगलबार खेल्नेछ ।
उक्त खेल जिते पनि नेपालले शीर्ष स्थानको रुसलाई भेट्ने छैन । लगातार तीन खेल जित्दै रुस ९ अंक जोडेर शीर्ष स्थानमा छ ।
रुस प्रतियोगितामा अपराजित एक्लो टोली हो । आज आइतबारकै अर्को खेलमा भुटानलाई पराजित गरेको भारत तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । बंगलादेशको समान ६ अंक भए पनि तेस्रो स्थानमा छ।
प्रतिक्रिया