बाणगंगा, मायादेवी अनलाइन ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले स्थानीय उत्पादन प्रयोग गरी अर्थतन्त्र बिकास गर्नुपर्ने बताउनुभएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लीहवाको छैठौं बार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै सांसद पन्थीले नेपाली पूँजी धेरै बाहिरिएकाले स्थानीय उत्पादनलाई प्रवर्धन गरेर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पन्थीले प्रत्येक पालिकाले आफूलाई चाहिने कृषिजन्य उत्पादन आफै गरेर आत्मनिर्भर बन्ने योजना हुनुपर्ने बताउनुभयो । उहाँले उर्भर भूमि भएकाले कृषि उत्पादकत्व बृद्धि गरेर अन्यत्रको पूँजी नगरमा भित्रयाउँदै आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।
सांसद पन्थीले निग्लीहवाकै केबलपुरका किसानबाट सवैले पाठ सिक्नुपर्ने बताउँदै स्थानीय स्तरमा स्वरोजगार बन्दै व्यवसायिक बनेर अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभयो । सहकारीले किसानलाई प्रत्यक्ष लाभ दिएकाले खस्कदो आर्थिक अवस्था सुधार गर्न सहकारीको पूँजी महत्वपूर्ण हुने समेत बताउनुभयो । बढ्दो बेरोजगार अन्त्यका लागि स्थानीय स्तरमा पूँजी संकलन गरी उद्यम विकास मार्फत स्वरोजगार र व्यवसायिक बनेर आर्थिक विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नगरभित्रका किसानको सुविधा लागि आफूले आवश्यक पर्ने योजना र कार्यक्रम समावेश गर्ने बताउनुभयो । गरिबी र बेरोजगार अन्त्यका लागि स्थानीय सरकारले किसान लक्षित गरी कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । प्रमुख पौडेलले आफनो श्रोत साधनले मात्र नपुग्ने भएकाले प्रदेश र संघीय सरकारसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
सहकारीकी अध्यक्ष सशिकला मौर्या अध्यक्षता तथा व्यवस्थापक बसन्त मुराउको संचालनमा सम्पन्न भएको साधारण सभामा सहकारीका अभियान्ता, वडा अध्यक्ष, समाजसेवी लगाएतले शुभकामना व्यक्त गरेका थिए । साधारण सभाले आ.ब. २०७८/०७९ को आर्थिक तथा प्रगती प्रतिवेदन पारित गरेको थियो ।
साधारण सभामा सफल उद्यमी, उत्कृष्ट सदस्य, किसान तथा सहकारीलाई सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया