८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु



काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजे सुरु हुनुपर्ने निर्वाचनको मतदान केही ढिलो गरी सुरु भएको हो।

मतदानस्थलमा मोबाइल लैजान पाउने, नपाउने विवादले ढिला भएको र त्यो विवाद समाधान भएको निर्वाचन समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए।​ कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेसम्म मतदान चल्नेछ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा छ। सांसदहरु मतदान गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका छन्। सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।

प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्। सांसदहरूको परिचयपत्र देखाएर मात्रै भित्र प्रवेश दिइएको छ। देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालालगयतको समर्थन रहेको छ। थापालाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले साथ दिएका छन्।

निर्वाचन समितिले मतदाता सांसदलाई निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनेको छ। कांग्रेसमा प्रत्यक्ष निर्वाचित ५७ र समानुपातिक तर्फका ३२ गरी जम्मा ८९ सांसद छन्। दलको नेता चयन हुन बहुमत अर्थात ४५ मत आवश्यक पर्छ।

मतदान सम्पन्न भएलगत्तै मतगणना गरि मतपरिणाम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए। ​

यसैबीच महामन्त्री थापाले सांसदहरुलाई विवकेसम्मत निर्णय गर्न आग्रह गरेका छन्। एक अपिल जारी गर्दै थापाले देश, जनता, भावी सन्तती र पार्टीको भविष्य सम्झेर संसदीय दलको नेतामा आफूलाई मतदान गर्न आग्रह गरेका हुन्।

प्रकाशित मिति : ६ पुस २०७९ बुधबार ००:००  ९ : ०० बजे