८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नवनिर्वाचित सांसदको शपथ पुस ७ गते हुने



काठमाण्डौ ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ यही पुस ७ गते अर्थात् आउँदो बिहीवार हुने भएको छ । पुस ७ गते दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सांसदको शपथ ग्रहण हुने संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फका एक सय ६५ र समानुपातिकका एक सय १० गरी दुई सय ७५ जना सांसदको शपथ एकै पटक हुनेछ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउने र उनै ज्येष्ठ सदस्यले अरू सांसदलाई शपथ ग्रहण गराउनुपर्ने कानुन रहेको छ । नागरिकताका आधारमा माओवादी केन्द्रका ८१ वर्षीय सांसद महिन्द्रराय यादव नै सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ । तर उहाँले आफ्नो उमेर कम भएको दाबी गर्दै आउनुभएको छ ।

२०७४ सालको प्रतिनिधि सभा सदस्यलाई महन्थ ठाकुरले शपथ ग्रहण गराउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यस पहिले नै सांसदको शपथ हुन लागेको हो ।

प्रकाशित मिति : ४ पुस २०७९ सोमबार ००:००  २ : २७ बजे