चन्द्रकान्त न्यौपाने, जितपुर । विश्वमा २४ प्रतिशत हृदयरोगबाट हुने मृत्यु र २५ प्रतिशत हृदयघातबाट हुने मृत्युको कारण वायू प्रदुषण हो र प्रदुषणकै कारण हरेक मिनेटमा विश्वका १३ व्यक्तिको मृत्यु हुने गर्दछ । त्यसरी निस्कने फोहरमध्ये प्लाष्टिकजन्य पदार्थको व्यवस्थापनको नाममा गरिने जलाउने कार्य सबैभन्दा घातक मानिन्छ । यसको सही प्रयोग र व्यवस्थापन हुन नसक्दा धेरै हृदयरोग निम्तन सक्ने विज्ञहरु बताउँछन् ।
फोहर र विशेषगरी प्लाष्टिकजन्य पदार्थ जलाउँदा प्यूरान र बेन्जिन जस्ता हानीकारक ग्यास निस्कन्छ र यसले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपले असर पुर्याउँछ । यस्तो गतिविधिले गृहिणी तथा गर्भवती महिला र भान्सामा खटिरहने प्लाष्टिक जल, जमिन, जीवजन्तुदेखि मानव स्वास्थ्यलाई असर पुर्याउने एक प्रमूख कारक बनेको छ ।
प्लाष्टिक जलाउँदा कार्बनमोनोअक्साईड, डाइओक्सिन, व्यक्तिको श्वासप्रश्वासमा प्रत्यक्ष असर पारिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । त्यसकारण प्लाष्टिकजन्य फोहर जलाउनु आफैमा गैर कानुनीे काम हो ।
यो थाहा हुँदाहुँदै कपिलवस्तुको वाणगंगा नगरपालिका भने प्लाष्टिकजन्य पदार्थ र अरु फोहरको ब्यवस्थापन जलाएर गर्नतर्फ लागेको स्थानीयले आरोप लगाएका छन् । वातावरण प्रदुषण नगर्न जनतालाई सचेत र जागरुक बनाउनुको सट्टा नगरपालिका नै फोहर र प्लाष्टिकजन्य पदार्थ ब्यवस्थापन गर्नको लागि जलाउने बाटो लिन लागेको हो कि भन्दै आलोचना गर्न लागेका हुन् । उनीअरुको प्रश्न छ ‘रातिबाट यहाँ एक्कासी आगो कसले लगायो ?’
बुधबार नगरपालिकाको वडा नम्बर १ र ८ जोड्ने वाणगंगा पुल वरिपरिको वायुमण्डल धमिलो र धुम्म देखियो । त्यो दृश्य देख्दा लाग्थ्यो कि कतै ठुलो डढेलो लागिरहेको छ । बाक्लो हुस्सु लागिरहेको छ । तर त्यो दुवै कारणले वायुमण्डल त्यस्तो देखिएको थिएन । वाणगंगाको फोहर डम्पिङ भएको क्षेत्रमा आगो लगाएपछि निस्किएको धुवाँको मुस्लोले वातावरण एक्कासी धमिलो भएको रहेछ । फोहरको ठुलो थुप्रोमाथि एक्कासी आगो लागिेपछि यसले स्कुल कलेज जाने विद्यार्थीदेखि स्थानीयलाई समेत धेरै प्रभावित पारेको थियो ।
त्यसपछि सामाजिक संजालदेखि चिया गफमा समेत नगरपालिकाको कटु आलोचना भइरहेको छ । सामाजिक संजालमा लेख्नेहरुले फोहरको व्यवस्थापन गर्न नसक्ने स्थानीय सरकारका जनप्रतिनिधिले तुरुन्त राजिनामा दिनुपर्ने बताएका छन् ।
यही विषयलाई लिएर वाणगंगाका शिक्षक तथा ब्यवसायी रमेश चन्द्र भुसालले जनप्रतिनिधिको ध्यानाकर्षण गराउँदै फेसबुकमा दुई फरकफरक स्टाटससहित भिडिओहरु राखेका छन् ।
भुसाल लेख्छन् ‘बाणगंगाका जनप्रतिनिधि ज्युहरू तपाईहरूसंग न समाधान रहेछ, न ऊर्जा! जहिले पनी जनतालाई सास्ती मात्र दिने! बरु इच्छा शक्ति छैन भने राजिनामा गर्नुस्, घर बस्नुस्। दिमाग जति ठेक्का र ठेकेदारीमा मात्र कहिलेसम्म?’
त्यसपछि नगरपालिकाको तीव्र आलोचना भएको छ । भुसालको त्यो भिडिओपछि सामाजिक संजाल चलाउनेमध्ये शिव शर्मा भन्नेले प्रतिक्रिया जनाउँछन् ‘कुहिने र नकुहिने बस्तु छुटाएर कुहिने बस्तुलाई कम्पोस्ट मलमा प्रयोग गरी नकुहिने बस्तुलाई पुन प्रयोगमा आउने सिसा, प्लास्टिकजन्य डिब्बा,बोतल ,भाडालाई कवाडको माध्यमबाट पुन प्रयोग गरि पुन प्रयोगमा ल्याउन सकिन्छ यसो गर्दा मनन्य आम्दानी हुन सक्छ, यसरी जलाउँदा बाताबरणमा हस हुनुका साथै मानवीय बाताबरण प्रदुषण हुन पुग्दछ । त्यसैले फोहोर मैलाको बिषयमा नगरपालिकाले उचित ब्यबस्थापन र ठोस योजना बनाउन महत्वपूर्ण छ ।’
यसैगरी कमल घिमिरेले भने बालेन र हर्कलाई सम्झँदै बाणगंगा नगरपालिकाका प्रमुख र उपप्रमुखको आलोचना गरेका छन् । ‘नगरका जनप्रतिनिधिमा कुनै भिजन नभएको भन्दै धेरै विषयमा नगरपालिका असफल भएको उनी बताउँछन् । फोहर जलाएको विषयमा उनी लेख्छन् हर्क, बालेन जस्ता मेयर देख्दा कति खुशी लाग्छ अनि हाम्रो वाणगंगा का मेयर देख्दा बाटो भरि बसेका गाई गोरु र वाणगंगा नदी छिउ को फोहोर नगरपालिका को गेट बाट भित्र छिराइदिम जस्तो, काम गर्नी आँट भिजन नभाका मेयर ले त राजीनामा दिए हुन्छ, अहिले को वाणगंगा पछिको बागमती भको देख्न नपरोस् मेयर जी!!’
वाणगंगामा विहान विहान नियमित साइकल चलाउने वाणगंगा राइडर क्लवका सदस्य रामचन्द्र बेलबासेले धुँवाँ र धुलोको कारण साइक्लिङ गर्न नसकिएको बताए । नगरपालिकाको ब्यङग्य गर्दै उनी लेख्छन् ‘वातावरण, वातावरण हाम्रो वातावरण“घरको फोहोर ट्याक्टरमा राखेर बाजागाजा सहित बाणगङ्गा नदी तिरमा जलाउँदा हामी नमुना नगर वासी मख्ख ! नेपाली हो, जे आउँछ मज्जाले पचाउँछ ।’
वोडगाउँ र बुङेचीबासीले पनि बुधबार विहान त्यहाँबाट निस्केको धुलो र धुँवाले बालबालिकालाई समेत असर गरेको बताउँछन् । सिद्धार्थ क्याम्पस र बाणगंगा बहुमुखी क्याम्पसमा विहान अध्ययन गर्न गएका विद्यार्थीको समेत धुँवा र त्यहाँबाट आएको गन्धका कारण पढाई प्रभावित भएको थियो । फोहरको ठुलो थुप्रोमाथि एक्कासी आगो लागेपछि यसले स्कुल कलेज जाने विद्यार्थीदेखि स्थानीयलाई समेत धेरै प्रभावित पारेको थियो । कतिपयले श्वासप्रश्वास नै गर्न नसकिएको र वायुमण्डलमा अस्जिनको मात्रा नै कम भएको महसुस गरेको बताएका छन् ।
त्यो आगो कसले लगायो ? त्यो अहिलेसम्म थाहा हुन सकेको छैन । रातिबाट त्यहाँ आगो लागेको प्रत्यक्षदर्शी बताउँछन् । तर धेरै स्थानीयवासीले नगरपालिकाकै अप्रत्यक्ष आग्रहमा त्यसो गरेको हुनसक्ने बताउँछन् । यता नगरपालिकाले भने आफूहरुको कारण यस्तो भएको कुरा अस्विकार गर्छन् । सामाजिक संजालमा भिडिओ भाइरल भएपछि पनि यसबारे खासै चासो नदिएपछि नगरकै आग्रहमा यसो भएको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।
यस विषयमा नगरप्रवक्ता विष्णु पौडेलसंग बुझ्दा यो विषयमा आफू अनविज्ञ भएको बताए । प्रवक्ता पौडेलले नगरको बदनाम गर्न कसैले त्यस्तो हर्कत गरेको हुन सक्ने बताउँदै उसलाई भेटेमा कारबाही गर्ने बताउँछन् । घटना थाहा पाएपछि नगरपालिकाको दमकल आएर आगोलाई निभाएको कारण नगरको कारण यस्तो भयो भन्नु मिथ्थ्या भएको उनी बताउँछन् ।
बाणगंगा नगरपालिकाको प्रमुख समस्या फोहर व्वस्थापन हुन नसक्नु पनि एक हो । पहिलो कार्यकालमा फोहर ब्यवस्थापन गर्न असफल पालिकाले वैशाख ३० गते नयाँ जनप्रतिनिधि पाए पनि यसबारे ठोस निर्णय गर्न सकेको छैन । मुलुकका अन्य पालिकामा धमाधम काम भइरहँदा वाणगंगाका नगरप्रमुख चक्रअर्याल लगायतका जनप्रतिनिधि सुतेर बसेको नगरबासीको आरोप छ । नगरपालिकाभरीको फोहर अहिले वाणगंगा नदी पुल नजिक डम्पिङ हुने गरेको छ । फोहरको उचित व्यवस्थापन नभएपछि दिनप्रतिदिन दुर्गन्धले निकै समस्यामा पारेको स्थानीयको भनाई छ ।
प्रतिक्रिया