गुल्मी ।
गुल्मीमा आज आइतवार एकै दिन दुई वृद्धले नागरिकता र राहदानी बनाउनुभएको छ । मदाने गाउँपालिका १ का चित्रबहादुर बोहोराले नागरिकता र मुसिकोट नगरपालिका १ का दिनामणि अर्यालले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउनुभएको हो ।
नागरिकता बनाउनका लागि मदाने गाउँपालिका १ का वडाध्यक्ष सुशील चन्दले बोहोरालाई आफ्नै खर्चमा सदरमुकाम तम्घास पुर्याउनुभएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको उपस्थितिमा प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले ७२ वर्षीय बोहोरालाई नागरिकता प्रदान गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
नागरिकता हात पारेपछि बोहोराले खुसी हुँदै वडाध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिनुभयो । उहाँले आजसम्म काम नपरेको हुँदा नागरिकता नबनाएको भन्दै बुढेसकालमा सामाजिक सुरक्षा भत्ता खानका लागि नागरिकता बनाउन आएको प्रतिक्रिया दिनुभयो ।
त्यसैगरी ८० वर्षका अर्यालले पनि आजै जिल्ला प्रशासन कार्यालयबाट राहदानीका लागि फाराम भर्नुभएको छ । उहाँले बुढेसकालमा भए पनि अस्ट्रेलियामा रहेकी नातिनीले घुम्न बोलाएको हुँदा श्रीमतीसहित विदेश जानका लागि राहदानी बनाउन आएको बताउनुभयो ।
प्रतिक्रिया