मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमाले कपिलवस्तुको क्षेत्र नं. १ ले पालिकाका सबै वडाहरुमा प्रचार प्रसार कार्यालय उद्घाटन गर्ने कामलाई तिब्र पारेको छ । शुक्रबार एकैदिन बाणगंगाको चारनम्बर जितपुर र मायादेवीको पकडीमा कार्यलय उद्घाटन भएको छ ।
असोज २८ देखि कार्तिक ४ भित्रमा ३० बटै वडामा कार्यालय स्थापना गरेर चुनावी माहोल तताउन एमाले लागेको छ । यतिमात्र होइन एमाले प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश क्षेत्र (१) र (२) मा प्रदेश निर्वाचन परिचालन कमिटीका बैठक राखेर चुनावी योजना पारित गरेको छ । जस अनुसार एमालेले हरेक पार्टी कार्यकर्तालाई विशेष जिम्मेवारी प्रदान गरेको छ । ३० वटै वडामा वडा स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
यता नेकपा एमालेले प्रतिनिधी सभा क्षेत्र १ र प्रदेश सभा क्षेत्र १ को निर्वाचन प्रचार कार्यालय आज ४ नं जितपुरमा संयुक्त रुपमा समुद्घाटन गरिएको छ । कार्यालयको समुद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज, क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उमेदवार बलराम अधिकारीले कपिलवस्तुको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनु भएको छ । जनताको जिवनस्तरमा परिवर्तन ल्याउन र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्नकै लागि पार्टीले आफूलाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय लेखा आयोग उपाध्यक्ष एवम प्रदेश क्षेत्र १ का उम्मेदवार विष्णु पन्थीले जनताकै इच्छा र आकांक्षा पुरा गर्न उमेदवारी दिएको बताउनु भयो । देशको निकास र विकासका लागि एमालेका उम्मेदवारलाई भारी मतले जनताले जिताउनेमा आफू विश्वस्त रहेको उहाँले प्रष्ट्याउनु भयो ।
कार्यक्रममा पाटीका जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु, जिल्ला नेताहरु भेषराज पाण्डे, विश्व कार्की लगायतले जनता एमालेको साथमा रहेको बताउनु भएको थियो । कार्यक्रममा जिल्लाका नेता, कार्यकर्ता शुभचिन्तक लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
यसैगरी नेकपा एमाले क्षेत्र नम्बर १ प्रदेश क्षेत्र २ अन्तरगत पकडीमा एक कार्यक्रमका विच निर्वाचन प्रचार कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज, निर्वाचन क्षेत्र १ प्रतिनिधि सभाका उम्मेदवार बलराम अधिकारीले मधेसको मुहार फेर्न आफू यसपाली जितेर जानु पर्ने बताउनु भयो ।
आफूलाई एक पटक अवसर प्रदान गरि भारी मतले जिताउन समेत उहाँले सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा प्रतिनिधी सभा १ को प्रदेश सभा २ का उम्मेदवार मधुशुधन शरण चौधरीले मधेशको विकासका लागि एमालेका उमेदवारलाई भारी मतले जिताउनु पर्ने बताउनु भयो ।
प्रतिक्रिया