८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कुर्सीको मोह र आर्थिक प्रलोभनमा परेर सहसरामले धोका दिए : यादव



मायादेवी अनलाइन, बाणगंगा ।

जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले सहसराम यादवले पार्टी र आन्दोलनमाथि गम्भीर घात गरेको बताएका छन् ।

दलबलसहित जसपाबाट मनोनयन दर्ता गराउन पुगेका यादव एकाएक मोडिएर गठबन्धनबाट उम्मेदवार बन्नु कुर्ची मोहको पराकाष्ठ भएको अध्यक्ष यादवले आरोप लगाए ।मायादेवी अनलाइनसंगको संक्षिप्त कुराकानीमा उनले सहसराम यादवले पार्टीलाई दिएको धोकालाई दुई प्रकारले हेरेको पनि सुनाए ।

‘एक कोणबाट हेर्दा सहसराममा त्रास र कुर्चीको मोह देखिएको छ । अर्को कोणबाट हेर्दा कही न कही आर्थिक चलखेल र प्रलोभनमा पर्नुभयो भन्ने हाम्रो शंका र आशंका छ,’ उनले भने ।

आसन्न मंसिर ४ को चुनावमा जसपाले यो क्षेत्र जित्ने उनले दाबी समेत गरे । सहसरामले पार्टी छाडे पनि उनको पछाडी कुनै कार्यकर्ता गएका छैनन्, आन्दोलनमाथि नै घात गर्नेलाई कस्ले साथ दिन्छ ? उनले प्रश्न गर्दै भने, ‘जसपा प्रति जनमत राम्रो छ । पार्टीका आधिकारिक उम्मेदवार मेवालाल यादवले यहाँ चुनाव जित्दै हुनुहुन्छ ।’

जसपाबाट लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रहेका यादव ०७४ मा प्रदेश सभामा निर्वाचित भएका थिए । ०७० को दोस्रो संविधानसभाको चुनावमा मधेसी जनअधिकार फोरमबाट चुनाव हारेका उनी ०६४ को पहिलो संविधान सभामा नेकपा (एमाले) बाट चुनाव लडेर हारेका थिए ।

मधेस आन्दोलनको धङधङ्गीमा एमालेमा सक्रिय उनी पछि फोरम प्रवेश गरेका थिए । यो निर्वाचनमा जसपाले उनलाई सर्वसम्मत उम्मेदवार बनाए पनि उनी एकाएक मोडिएर गठबन्धन भित्र कांग्रेसबाट चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९ शुक्रबार ००:००  ३ : ०४ बजे