मायादेवी अनलाइन, बाणगंगा ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री भएका सहसराम यादवले पदबाट अझै राजीनामा दिएका छैनन् ।
जसपा परित्याग गरी नेपाली कांग्रेसबाट चुनाव लडेका यादव लुम्बिनी प्रदेशसको भौतिक पूर्वाधार मन्त्री छन् ।
जसपा लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता समेत रहेका यादव हाल उक्त पार्टीमा छैनन् ।
मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यादव जसपा परित्याग गर्दै सत्ता गठबन्धनमा प्रवेश गरी रुख चिह्न लिएर चुनावी मैदानमा छन् ।
यादव मंसिर २३ गते जसपा परित्याग गरी कांग्रेस प्रवेश गरेपनि अझै पार्टीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न नसकेको जसपा कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।
‘जसपाबाट मन्त्री हुने तर अर्कै पार्टीबाट चुनाव लड्ने यो कस्तो प्रकारको राजनीतिक संस्कार हो ? अध्यक्ष यादवले प्रश्न गर्दै भने, ‘सहसराम जि ले नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिनुपर्छ ।’
यादवलाई जसपाले आसन्न निर्वाचनमा पनि उम्मेदवार बनाउन चाहन्थ्यो । सोही अनुसार केन्द्रबाट एमाले–जसपा तालमेलमा कपिलवस्तु–१ को प्रदेश सभा ‘क’ जसपाको भागमा परेको थियो ।
यही क्षेत्रबाट चुनाव लड्ने गरी यादवलाई जसपाले उम्मेदवार बनाएको थियो । मंसिर २३ गते जसपाबाट मनोनयन दर्ता गर्ने गरी निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर रुख चिह्नका उम्मेदवार बन्न पुगेका थिए ।
जसपाका नेता तथा कार्यकर्तासंगै तालमाझको साथ मनोनयन दर्ता गराउन आएका उनी एकाएक मोडिएर कांग्रेस उम्मेदवार भएपछि कार्यकर्ता आक्रोशित बनेका थिए ।
यादवले पार्टी छाडेको एक हप्ता वित्न लाग्दा पनि मन्त्रीबाट हटाइएको छैन् । सत्ता गठबन्धनको लुम्बिनी प्रदेश सरकार रहेको कारण यादवलाई मन्त्रीबाट नहटाइएको हुन सक्ने जसपाका नेताको आशंका छ ।
‘हाम्रो प्रदेशमा विचित्रको राजनीति देखियो । मन्त्री एउटा पार्टीबाट हुने, उम्मेदवार अर्कोबाट । एक नेताले भने, ‘अझै मन्त्रीबाट राजनीतिमा दिन नसक्ने, यो कस्तो प्रकारको राजनीतिक चरित्र हो ।’
प्रतिक्रिया