८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तु-३ प्रदेश सभा ‘क’ मा नेकपा एसले थाल्यो चुनावी प्रचार अभियान



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा नेकपा (एकीकृत समाजवादी) ले चुनावी प्रचार अभियानको थालनी गरेको छ ।

कपिलवस्तु-३ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीले चुनावी प्रचार अभियान थालेको हो ।

समाजवादीले यस क्षेत्रमा जीवलाल पौडेललाई उम्मेदवार बनाएको छ ।

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिभिसभा र प्रदेशसभा निर्वाचनका लागि जीवलाल पौडेललाई उम्मेदवार बनाएर निर्वाचन प्रचार प्रसारको अभियान थालिएको पार्टीका जिल्ला अध्यक्ष लंका बहादुर हमालले बताए ।

शुक्रबार युवा संघ नेपाल शिवराज नगर कमिटीले चन्द्रौटामा राखेको युवा परिचालन भेलाले रिजाउद्धिन मन्सुरीको संयोजकत्वमा ३ सय १ सदस्यिय कमिटी गठन गरिएको छ ।

भेललाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्रीले आसन्न मंसिर ४ को निर्वाचनमा संविधान बचाउने शक्तिले चुनाव जित्नुपर्नेमा जोड दिनुभयो । यो निर्वाचन परिवर्तनकारी र प्रतिगमनकारी बीचको लडाई रहेको भन्दै गठबन्धन भित्रका दलहरु बीच स्वच्छ प्रतिस्पर्धा गर्ने गरी यहाँ कलम चिन्हका उम्मेदवार जीवलाल पौडेललाई पार्टीले उम्मेदवार बनाएको क्षेत्रीले बताउनुभयो ।

पौडेलको जितले समग्र यस क्षेत्रको विकास हुने भन्दै नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको उहाँले बताउनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष हमालले पटक पटक यस क्षेत्रबाट चुनाव जित्नेले युवाको रोजगारी, किसानको समस्या समाधान गर्न नसकेको बताउनुभयो । चुनावको बेला जे पनि बोल्ने, जिते पछि माखो नमार्ने उम्मेदवारलाई यो निर्वाचनमा सवक सिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार पौडेलले यो निर्वाचनमा आफूलाई मत दिन आग्रह गर्नुभयो । चुनावी घोषणापत्रका साथ आफूहरु चुनावमा होमिने भन्दै एक पटक भोट दिएर जिताउन आग्रह गर्नुभएको छ ।

युवा संघ नेपालका शिवराज नगर कमिटी अध्यक्ष रुपिन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मीना परियार, केन्द्रीय परिषद सदस्य छविलाल शर्मा, जिल्ला उपसचिव सरोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९ शुक्रबार ००:००  ९ : ०३ बजे