८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अर्को हप्तासम्म मौसमी वर्षा कायमै रहने



काठमाण्डौ ।

जल तथा मौसम विज्ञान विभागले आउँदो हप्तासम्म मौसमी वर्षा रहिरहने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले यो जानकारी दिनुभएको हो ।

आज बुधवार एक न्युज एजेन्सीसँगको कुराकानीमा वरिष्ठ मौसमविद् रेग्मीले त्यसका लागि विभागले मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताउनुभयो ।

वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षा सकिए पनि जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पार्नुभयो । वर्षा सकिए पनि त्यसको जोखिम भने कायमै रहन सक्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मनसुन अहिले तत्कालै, आजरभोलि नै बाहिरिने सम्भावना छैन । सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । हामीले मौसमी प्रणालीको अनुगमन गरिराखेका छौँ । मनसुनी वर्षा सकिएपछि पनि मौसमी गतिविधि रहिरहन सक्छ ।’

विभागले आउँदो हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भन्नेबारे हिउँदयाम सुरु हुनुअघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले आउँदो हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागले मौसमी अवस्थाबारे २४ घण्टा नै सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९ बुधबार ००:००  ६ : ११ बजे