मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धन भत्किन पुगेको छ ।
केन्द्रस्तरमा दुई पार्टी बीच भएको सहमति अनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेश सभा जसपाले पाएका थिए ।
आइतबार विहान १० बजेसम्म सोही निर्णय अनुसार दुबै दल मिलेरै मनोनयन दर्ता गर्ने सुरसारमा थिए । तर, एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका सहसराम यादवले ‘राजनीति कोल्टे’ फेरेपछि अन्ततः जिल्लामा गठबन्धन भत्किन पुगेको हो ।
यादव जसपाबाट लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री छन् । तर, उनी दिउँसो १२ बजेसम्म एमाले-जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी तयारीमा थिए । सोही अनुसार छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगे ।
यादव कांग्रेसबाट उम्मेदवार बनेपछि गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ । गठबन्धन अनुसार यस क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आएको समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ ।
यादव कांग्रेसका उम्मेदवार बनेपछि एमालेले गठबन्धन तोड्दै जसपाले पाएको निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधिसभा-१ को ‘ख’ मा एमालेले मधुसुदन चौधरीलाई उम्मेदवार बनाएको छ ।
यता जसपाले प्रतिनिधिसभा-२ को प्रदेश सभा ‘ख’ बाट अब्दुल रसिदलाई उम्मेदवार बनाएको छ । यस क्षेत्र एमालेले पाएको थियो ।
प्रतिक्रिया