८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रूपन्देहीमा ५१ जनाले मात्र बुझाए निर्वाचन खर्च विवरण



भैरहवा ।
स्थानीय तह निर्वाचनका लागि फरकफरक रकम तोकिए पनि रूपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने प्रावधान छ । रूपन्देहीमा सबैभन्दा अन्तिममा मत परिणाम तिलोत्तमा नगरपालिकाको जेठ १३ गते घोषणा भएको थियो ।

सोही मितिलाई आधार मान्दा पनि असार १३ गतेभित्र जिल्लाका सबै उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने हो । रूपन्देहीमा रहेका पाँच हजार ११ उम्मेदवारमध्ये ५१ जनाले मात्र निर्धारित समयमा खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । निर्धारित समयपछि कुल ६४९ जनाले खर्च फाँटबारी बुझाए पनि त्यसको कुनै औचित्य नरहेको उनको भनाइ छ ।

रूपन्देहीका प्रायस् उम्मेदवारले निर्वाचन आयोगको यो कानूनी व्यवस्थाबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख पदमा उम्मेदवार भई विजयीसमेत भएका उमाकान्त चापाईंले उक्त व्यवस्थाबारे आफूलाई थाहा नभएको बताए ।

रूपन्देही मात्र होइन, धेरै स्थानीय तहमा निर्वाचन खर्च विवरण पेश नगरेका उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण दिने अधिकांश उम्मेदवारले बिरामी भएका कारण खर्च विवरण बुझाउन नपाएको खुलाएका छन् । यही भदौ १ गतेदेखि ७ गतेसम्म स्पष्टीकरण बुझाउने म्याद रहेको थियो । एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह रहेको रुपन्देहीमा पराजित र विजयीसमेत गरी पाँच हजार ११ जनाले उम्मदवारी दिएका थिए । रासस

प्रकाशित मिति : २२ भाद्र २०७९ बुधबार ००:००  ९ : ०५ बजे