इटहरी ।
तराई/मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिक रूपमा घट्दै गएको छ । विशेषगरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गएको छ ।
लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु, मजदूर अभाव लगायत कारण जुटखेतीमा उनीहरूको आकर्षण घटेको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदूर अभावले पनि जुटखेती घट्दै गएको बताइएको छ ।
कुनै समय जुटखेतीका लागि उर्वर मानिने सुनसरीका दक्षिण सीमावर्ती क्षेत्र नरसिंह भोक्राहा गाउँपालिका, हरिनगर गाउँपालिकाका गौतमपुर, रामनगर भुटाहा, घुस्की, वसन्तपुर, कोशी गाउँपालिकाका पश्चिम कुशाहा, लौकही, श्रीपुर र हरिपुर क्षेत्रमा अहिले जुटखेती आधाभन्दा कम भइसकेको छ ।
त्यसैगरी देवानगञ्ज गाउँपालिकाका कप्तानगञ्ज, मध्यहर्षाही, राजगञ्ज सिनुवारी, साहेबगञ्ज, इनरुवा नगरपालिकाका बबिया, जल्पापुरलगायत क्षेत्रका किसानले जुटखेती घटाउँदै लगेका छन् । थोरै जग्गामा जुटखेती भए पनि मजदूरको अभावमा खेतमै सुक्ने अवस्था आएको स्थानीय किसान वीरेन्द्र यादवले बताए । ‘स्थानीय सरकारले जुटखेती गर्नेका लागि राहतरअनुदान दिए धेरै खेती गर्ने थियौं, तर कहिल्यै सहयोग पाइएन,’ उनले भने । सुनसरीका किसानले केही वर्ष अघिसम्म जुटबाट राम्रो आम्दानी गर्ने गर्थे । यतिबेला उनीहरू व्यावसायिक रूपमा जुटखेती गर्थे । तर अचेल भने दाउराका लागि मात्र जुटखेती गर्ने गरिएको कोशी गाउँपालिकाका किसान ललित यादवले बताए । ‘खेती लगाउने समयमा जन ९मजदूर० पाइँदैन, दिनरात गरेर खेती लगायो, काट्नदेखि विक्री गर्न समेत समस्या हुन्छ,’ उनले भने ।
सुनसरीमा आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं १ मा ७ हजार २८५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । यसबाट १२ हजार ९५९ मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७६/७७ मा जुटखेती ७ हजार ५५५ हेक्टर क्षेत्रफलमा लगाउँदा १० हजार १६५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आव २०७७/७८ मा ७ हजार ४१५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो ।
पछिल्लो केही वर्षयता जुटखेती क्रमिक रूपमा घट्दै गएको जुट अनुसन्धान केन्द्र, इटहरीका प्रमुख तीर्थराज रिजालले बताए । नगदे बाली भए पनि जुटखेती गर्ने प्रविधि झन्झटिलो भएकाले हरेक वर्ष घट्दै गएको जानकारी उनले दिए ।
नेपालमा उत्पादित कच्चा जुट भारत र बंगलादेशमा समेत निर्यात गरिन्थ्यो । पछिल्लो समय भने आन्तरिक माग नै धान्न नसकेर यस्ता उद्योग बन्द छन् । रासस
प्रतिक्रिया