दाङ ।
दाङमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले चालक र सह(चालकलाई नियन्त्रणमा लिएको छ ।
आज बिहान बन्दको मौका छोपेर बीमाको लोभमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चालक राप्ती गाउँपालिका सिसहनियाका अरूण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् ।
आज बिहान बबई खोलाको पुल नजिक रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो । बन्द कर्ताहरुले आफूहरुको बन्द कार्यक्रम बिहान पाँच बजेपछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरुको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुई दिनदेखि त्यही ठाउँमा टिपर बिग्रिएर रोकी राखेको स्थानीयले बताएका जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
टिपरमा आगजनी भएपछि चालक सहचालकले प्रहरीलाई फोन नगरेको र अर्कै चालकले आगो लागेको देखेर प्रहरीलाई फोन गरेपछि घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
चालक र सहचालक पनि टिपर भएको ठाउँमा रहेको र उनीहरुको मोबाइल पनि साथमै भएकाले टिपरमा आगजनी हुँदा पनि प्रहरीलाई जानकारी नगराएपछि घटना थप रहस्यमय बनेको प्रहरीको भनाइ छ।
बीमा रकमको लोभमा परि बन्दको मौका छोपेर चालक र सहचालकले आफैँले चलाउँदै आएको टिपरमा आगो लगाएको हुनसक्ने प्रहरीको भनाइ छ।
प्रतिक्रिया