बुटवल ।
रूपन्देहीको बुटवलबाट पाल्पाका पर्यटकीय स्थल जोड्ने गरी दुई वटा केबलकार निर्माण धमाधम भइरहेको छ । बुटवलबाट पाल्पाको नुवाकोटसम्म एउटा र अर्को वसन्तपुर डाँडासम्म ओहोरदोहोर हुने गरी निर्माण भइरहेको हो ।
यसै वर्षभित्र निर्माण पूरा गरेर सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । निर्माणका लागि ०६२ सालमा लाइसेन्स पाएका दुवै कम्पनीले रुख कटान अनुमति पाएपछि निर्माण थालेका हुन् ।
सिद्धार्थ केबलकार प्रालिले बुटवल–१ स्थित पुरानो बटौलीबाट पाल्पाको तिनाउ–२ नुवाकोटगढी जोड्ने गरी निर्माण गर्न लागेको केबलकारको गत फागुन १० गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए । यसको निर्माण कार्य तीव्र छ । कुल ८५ करोड रुपैयाँ लगानीमा यसको निर्माण भइरहेको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण सकिने गरी काम भइरहेको सिद्धार्थ केबलकार प्रालिले जनाएको छ । अहिले लोवर र अपर स्टेसन निर्माणको काम भइरहेको प्रालिले जनाएको छ । बुटवलबाट नजिकै रहेको नुवाकोटलाई हिल स्टेसनका रूपमा विकास गर्न ०५५÷५६ सालबाटै केबलकार निर्माण गर्नेबारे छलफल भइरहेको थियो ।
प्रालिका अनुसार प्रतिघण्टा ५ सय जनाले ओहोरदोहोर गर्ने क्षमताका २५ वटा गन्डोला (केबलकारको डब्बा) रहने छन् । एउटा गन्डोलामा ८ जना चढ्न मिल्नेछ । साथै एकैपटकमा वारपार गर्न सकिने व्यवस्था रहने प्रालिले जनाएको छ । बुटवलबाट नुवाकोटको दूरी ८ मिनेटमा पार गर्न सकिनेछ । यसबीचमा १२ वटा टावर निर्माण भइरहेको छ । केबलकार छिटोभन्दा छिटो सञ्चालन गर्न भारतबाट सेप्टेम्बरमा कन्भेयर एण्ड रोपवे सर्भिसेज प्रालिको टिम ल्याउने तयारी पूरा भएको प्रालिले जनाएको छ ।
प्रतिक्रिया