१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

रुपन्देही-३ बाट उद्यमी खड्काको स्वतन्त्र उम्मेदवारी घोषणा



भैरहवा ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उद्योगी केशव विक्रम खड्काले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका(७ निवासी ६१ वर्षीय खड्काले पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारीको घोषणा सार्वजनिक गरेका हुन् । रुपन्देहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी घोषणा सार्वजनिक गर्ने उनी पहिलो व्यक्ति हुन् । रुपन्देहीको मायादेवी गाउँपालिका(८ मा संचालित दाउन्ने फिड्स उद्योगका उनी सञ्चालक हुन् ।

कर्म‚ साधना र धर्म साधनामा संलग्न खड्काले मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, अशान्ति, दण्डहीनतालगायत बेथितिले राष्ट्र दिन प्रतिदिन बिग्रिँदै जान थालेकाले उम्मेदवारी दिन बाध्य भएको बताए । ‘म उद्योगी भएकाले राजनीति मेरो क्षेत्र होइन र रुचिको विषय पनि होइन‚’ उनले भने, ‘तर राजनीमा संलग्न नेताहरूको आचरण र राजनीतिक कमजोरीले राष्ट्रको अवस्था दिन प्रतिदिन बिग्रिँदै जान थालेको अहिलेको यथास्थितिको विद्रोहका लागि मेरो यो उम्मेदवारी हो ।’

प्राकृतिक चिकित्सक एवम् पशुपंक्षी पोषणविद्समेत रहेका खड्काले राजनीतिक दलका नेताहरू विदेशीको ईशारामा नाच्ने गरेको र नेपालप्रति चिन्तन नरहेको आरोप लगाए ।

प्रकाशित मिति : ३ भाद्र २०७९ शुक्रबार ००:००  १ : ४३ बजे