अर्घाखाँची ।
पाणिनि गाउँपालिकाले सञ्चालनमा ल्याएका दुईवटा एम्बुलेन्स चार महिनादेखि कार्यालयमै थन्किएका छन् । बिरामी पैदलै र भाडाका गाडी खोजेर अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि धाउन बाध्य छन् ।
एम्बुलेन्स खरिदका लागि पाणिनिको खिदिमका लंक केसीले ५० प्रतिशत लगानी गरिदिएका थिए । बाँकी गाउँपालिकाको बजेटमा डेढ वर्षअघि दुईवटा एम्बुलेन्स भित्र्याइएका हुन् । तत्कालीन पालिका अध्यक्ष अच्युत गौतम र उपाध्यक्ष लक्ष्मी गौतमले तामझामका साथ एम्बुलेन्स सञ्चालन गरेको घोषणा गरेका थिए । अहिले ती एम्बुलेन्स कार्यालय परिसरमा खिया लाग्ने गरी थन्किएका छन् ।
लु१झ ५९३ र लु१झ ५९४ नम्बरका दुईवटा एम्बुलेन्स चलेका छैनन् । ‘९ महिनादेखि हाम्रो तलब, भत्ता र गाडी मर्मत खर्च केही नदिएपछि चार महिनादेखि हामीले एम्बुलेन्स चलाएका छैनौं,’ चालक सन्तोष ज्ञवालीले भने, ‘२०७९ वैशाख १ देखि कार्यालय परिसरमै थन्किएका छन् ।’ त्यसयता बिरामीले एम्बुलेन्स नपाएर दुःख पाएका छन् । यतिका समय एम्बुलेन्स थन्किँदा इन्जिन र पार्टपुर्जामा खिया लागेको छ । घामपानीले गर्दा टायर काम नलाग्ने भएको हुन सक्ने ज्ञवालीले बताए ।
बिरामी बोकेको भाडा पालिकाले राख्ने र चालकलाई तलब–भत्ता गाउँपालिकाले दिने गरी ज्ञवाली र अमृत अधिकारीलाई करारमा चालक राखेको थियो । सुरुदेखि नै ज्ञवाली र अधिकारीले तलब नपाएको गुनासो गरे । अहिले पनि गाउँबाट बिरामीले फोन गरेको उनले बताए । नयाँ जनप्रतिनिधि आएपछि १५ दिनअघि चालकको बक्यौता तलब–भत्ता र गाडी मर्मत खर्च सबै उपलब्ध गरायो । तर, पालिकाले चालकलाई एम्बुलेन्स चलाउन अनुमति दिएको छैन । तलब पाए पनि एम्बुलेन्स चलाउन अनुमति नपाएपछि यत्तिकै घरमा बसेको ज्ञवालीले बताए ।
छाती दुख्ने समस्याले सताएपछि पाणिनिका मनबहादुर विकले एम्बुलेन्स सेवा नपाएपछि बस चढेर अस्पताल पुगे । ‘सस्तो भाडामा एम्बुलेन्स सेवा छ, जहाँ पनि जतिबेला पनि सेवा दिन्छौं भनेको सुन्थें,’ उनले भने, ‘अहिले आफूलाई आपत् परेका बेला पालिकाको एम्बुलेन्स काम लागेन ।’ उनीजस्ता बिरामीले एम्बुलेन्स भएर पनि सुविधा पाएका छैनन् । गाउँमा सुत्केरी व्यथा लागेकालाई बोकेर स्वास्थ्य संस्थामा पुर्याउनुपरेको गुनासो स्थानीयको छ । सक्नेले महँगोमा सदरमुकामबाट ट्याक्सी, जिप रिजर्भ गरेर जानुपर्ने बाध्यता आइपरेको उनीहरूले सुनाए ।
एम्बुलेन्स सञ्चालन हुँदा तत्कालीन जनप्रतिनिधिले यातायातकै कारण समयमै अस्पताल र स्वास्थ्य संस्थामा जानबाट रोकिनु नपर्ने भन्दै प्रचार गरेका थिए । स्थानीय तहको चुनावपछि नयाँ जनप्रतिनिधिले पनि चलाउने कुनै सुरसार गरेका छैनन् । तीन वर्ष पहिलेको पुरानो कार्यविधिले अहिले एम्बुलेन्स सञ्चालन गर्न नसकिने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । ‘एम्बुलेन्स चलाउनका लागि कार्यविधि परिवर्तन गर्नुपर्छ । त्यसका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्नुपर्नेछ,’ उनले भने, ‘एक महिनादेखि बैठक बस्न सकेको छैन । कहिले वडाध्यक्ष बिरामी त केही के काम परेर बैठक बस्न नसकेको हो ।’
प्रतिक्रिया