१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

अर्घाखाँची पुगेका नेम्वाङको दाबीः जति घेराबन्दी गरे पनि एमालेको बहुमत आउँछ



अर्घाखाँची ।
नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मंसिर ४ को चुनावमा एमालेले बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) अर्घाखाँचीले सन्धिखर्कमा सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख नेम्वाङले एमालेसँग एक्लै चुनाव लड्ने कांग्रेससँग पनि हिम्मत नभएको बताए ।

गठबन्धन टिकाउनु ५ दलको बाध्यता रहेको पनि उनले बताए । ‘गठबन्धनबिना एमालेसँग चुनाव लड्न नसक्ने ठहर गर्दै ५ दलीय गठबन्धन भएका छन्, अझै जति दल एक ठाउँ भए पनि मंसिरको चुनावमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैनन्,’ उनले भने ।

स्थानीय तहको चुनावमा एमालेको पक्षमा लोकप्रिय मत आएकाले र देशको विकासका लागि जनताले एमालेको सरकार आवश्यक ठानेका बहुमत ल्याएरै छाड्ने उनको दाबी थियो ।

‘कांग्रेसको धरातल कहाँ झर्‍यो, गठबन्धनबिना एक्लै चुनाव लड्न नसक्ने ठहर गर्दै ५ दलीय गठबन्धन गरियो,’ उनले भने, ‘एमालेका सबै नेतारकार्यकर्ता एकढिक्का भएर अर्घाखाँचीका स्थानीय तहमा धेरै स्थानमा जित्न सफल भयौं । संघ र प्रदेशसभाका तीन वटै सिटमा एमाले उम्मेदवार विजयी भएरै छाड्छन् ।’ एमालेलाई चारैतिरबाट जति घेराबन्दी गरेपनि देशभर एमालेको बहुमतलाई रोक्न अब ५ दलीय गठबन्धनले नसक्ने उनले बताए ।

‘सरकार निर्वाचनमा जान डराइरहेको छ,’ उनले भने, ‘सत्ताधारी गठबन्धन कायम नगरेसम्म एमालेसँग एक्लाएक्लै चुनावमा जाने आँट छैन भनेरै एकठाउँ छन् । एमालेको शक्ति कति रहेछ भन्ने यही प्रमाण हो, गठबन्धन भए पनि चुनावमा एमाले आयो आयो ।’

स्थानीय तहको निर्वाचनले एमालेबाट चोइटिएर बाहिरिएका माधवकुमार नेपालले आफ्नो औचित्य पुष्टि गर्न नसकेको उनले टिप्पणी गरे । एमाले सचिव टोपबहादुर रायमाझीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अर्घाखाँचीवासी जनता एमाले उम्मेदवारलाई जिताउन आतुर रहेको दाबी गरे ।

प्रकाशित मिति : ३० श्रावण २०७९ सोमबार ००:००  ९ : ०६ बजे