मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारमा टायल्स, चिनी र गहुँको आयात नहुँदा गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यको ७१ दशमलव १३ प्रतिशत मात्र राजस्व संकलन भएको छ । धर्मकाँटा नभएको भन्दै भन्सारको केन्द्रीय कार्यालयले टायल्स आयातमा रोक लगाएको थियो ।
यस्तै भारतीय सरकारले गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाए पछि त्यसको सिधा असर सुठौली भन्सारमा पनि परेको हो । गत आर्थिक वर्ष भन्सारमा १ अर्व ३८ करोड ८४ लाख १० हजार राजस्व संकलन भएको हो । गत वर्ष भन्सारलाई १ अर्ब ९५ करोड १९ लाख ४४ हजारको लक्ष्य दिइएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको १ सय ९३ प्रतिशत राजस्व उठेको थियो । गत अघिल्लो आर्थिक वर्ष १ अर्व ५१ करोड २९ लाख राजस्व संकलन भएको थियो । भन्सार प्रमुख अभिषेक कण्ठले अघिल्लो अर्थिक वर्षमा लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन भए पनि गत आर्थिक वर्ष भने लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन भएको बताए।
गत आर्थिक वर्षको साउन, भदौ असोज महिनामा टायल्स आयातमा अवरोध थिएन । यस्तै चिनी गहुँ चामल फलफूल समेत आएको थियो । सो तीन महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको थियो । साउनमा १३ करोड ६५ लाखको लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा २० प्रतिशत बढी राजस्व संकलन भइ १५ करोड ७३ लाख संकलन भएको थियो ।
यस्तै भदौमा लक्ष्य भन्दा एक प्रतिशत बढी राजस्व संकलन भइ १५ करोड ९३ लाख संकलन भएको थियो । यस्तै असोज महिनामा लक्ष्य भन्दा ३ प्रतिशत संकलन भइ १५ करोड २० लाख राजस्व उठेको थियो । गत वर्षको कार्तिक देखि असारसम्म लक्ष्य अनुसार राजस्व उठन सकेन । भन्सार प्रमुख कण्ठले टाल्यस, गहुँ चिनीको आयात रोकिए पछि त्यसले यहाँको भन्सारमा असर गरेको बताए ।
त्यस्तै अनलाइन सिस्टम र भारतीय जिएसटी लगायतका कारणले पनि राजस्व संकलनमा असार परेको हो । अघिल्लो आर्थिक वर्ष कोरोना कालमा व्यापारीहरुले यो नाकाबाट मालसाना आयात गरेका थिए । गत वर्ष भने नगरकाले पनि भन्सार संकलनमा कमी आएको हो । ‘भन्सारको भौतिक अवस्थामा समेत सुधार गरिए राम्रो हुन्छ’ उनले भने। जग्गा अभावले भन्सारमा अझैसम्म यार्ड निर्माण हुन नसक्दा मालवाहक गाडीहरु बाटोमै खडा गर्ने गरिएको छ।
यसले गर्दा धरै समस्या भएको कण्ठले बताए । धर्मकाँटाको निर्माणको तयारी गरिएको छ। यस्तै भन्सारका लागि जग्गा खरिद गर्न भन्सार विभागका ध्यानककषर्ण गराइएको कण्ठले बताए। भन्सारमा कृषिजन्य सामग्री, चामल, मकै तरकारी तथा कोइला आयात हुने गरेको छ।
प्रतिक्रिया