१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

कपिलवस्तुका घनाबस्तीबाट हाइटेन्सन लाइन राख्ने तयारी, प्रभावित क्षेत्र आक्रोशित



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाले कपिलवस्तुको स्थानीय सरकार र स्थानीय जनतासंग कुनै छलफल नै नगरी बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका घनाबस्ती क्षेत्रबाट ३३ केभिएको हाइटेन्सन विद्युत प्रशारण लाईन राख्ने तयारी सुरु गरेको छ ।

उच्च भोल्टेजको बिद्युत प्रवाह हुने उक्त ३३ केभिए प्रशारण लाइन सामान्यतया बस्ती विकास नभई सुकेको क्षेत्र, जंगल क्षेत्र वा नदी तटिए क्षेत्र जहाँ घनाबस्ती हुँदैन त्यहाँबाट राख्नेगरी बिद्युत पोल गाडिनु पर्नेमा बिद्युतले छोटो दुरीको बाहनामा घनाबस्ती विकास भएको क्षेत्रमा एकाएक पोल गाड्न थालेपछि स्थानीय आक्रोशित भएका छन् ।

चन्द्रौटाबाट गोरुसिंगे हुँदै तौलिहवा पुर्‍याइएको सोही प्रकृतिको लाइन राजमार्ग क्षेत्र र जंगल क्षेत्रबाट प्रशारण भएको छ । गोरुसिंगे देखि तौलिहवा पुर्‍याउँदा जंगल र नदी तटिए क्षेत्र प्रयोग गरिएको छ । तर मोतिपुर सब स्टेशनबाट केही महिना पहिले उत्पादन भएको ३३ केभिए क्षमताको बिद्युत प्रशारणको हाइटेन्सन लाइन बाणगंगाको वडा नं. ६, कपिलवस्तुको वडा नं ९ र वडा नं. ६ हुँदै तौलिहवा पुर्‍याउने तयारी गरिएको छ । त्यसका लागि फलामका पोलहरु कतिपय स्थानमा गाडिएको समेत छ । जसका कारण भगलापुर, बनकसीया कुस्मा हरनामपुर जगदीशपुर, श्रीनगर, वर्मेलीटोलसम्मका हजारौ ब्यक्तिका घर तथा खेतहरुको बैंकिङ मूल्याङ्कन नहुने भएको छ ।

३३ केभिएको प्रशारण लाइन भन्दा दुबै तर्फ १५/१५ मिटर क्षेत्रको घर तथा जग्गा वित्तिय कारोबारका लागि बैंकहरुले धितोको रुपमा स्वीकार्दैनन् जसका कारण हजारौं किसान ठूलो मर्कामा पर्ने भएका छन् ।

ब्यक्तिले यस अघि बनाएका हजारौं घर राखेर बैंक कर्जा खाने बाटो समेत बन्द हुने भएको छ । बाणगंगाको ७ नं. मोतिपुरमा सब स्टेशन राखिएको ३३ केभिए बिद्युत प्रशारण लाइन वाणगंगाको वडा नं ६ सम्म ल्याउँदा बाणगंगा नदीको ड्याममा पोल गारिएको छ ।

त्यसैगरी बर्मेलीटोलबाट तौलिहवासम्म नहरको ड्याममा पोल गाडिदैछ । त्यो अत्यन्तै स्वभाविक हो । तर वडा नं ६ को लक्ष्मणघाटमा ल्याएपछि लक्ष्मणघाट तिलौराकोट पर्यटकीय सडक हुँदै बर्मेली टोलसम्म पुर्‍याइदैँछ । यो काम बिद्युत प्राधिकरणको मनोमानी र जनघाती काम भएको संविधान सभाका सदस्य विश्राम प्रसाद थारुले बताउनुभयो ।

उहाँले उक्त लाइन तौलिहवा पुर्‍याउन बाणगंगा नदीको ड्याम क्षेत्रबाट लैजाने बिकल्प हुँदा हुँदै बिद्युत प्राधिकरण तौलिहवाका प्रमुख राजेश कुमार झाले मनोमानी गरेर हजारौ जनताको सम्पत्ति माथि क्षती पुर्‍याउन खोजेको बताउनुभयो । उहाँले ती ३ वटा वडाका जनप्रतिनिधी र स्थानीयलाई उक्त कार्यको प्रतिवादमा उत्रन आग्रह गर्नु भयो ।

यता उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेले प्राय लो भोल्टेजको समस्या खेपेको तौलिहवामा ३३ केभिए प्रशारण लाइन पुर्‍याउनु सुखद भए पनि घनाबस्ती विकास भई सकेको क्षेत्रबाटै हाइटेन्सन लाइन जबरजस्ती लैजान खोज्नु बिद्युत प्राधिकरणको मुर्खतापूर्ण काम भएको बताउनु भयो ।

उहाँले स्थानीय जनताको सहमति बिना बिद्युत प्राधिकरणले यतिठूलो काम कसरी गर्दैछ ? यहाँका स्थानीय जनप्रतिनीधिहरु किन मौन छन् ? भन्ने प्रश्न गर्नु भयो ।

नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईले जनतालाई क्षती नहुने विकल्प रोजेर सोही अनुसार काम हुनुपर्ने तर्क गर्नु भयो । अन्यथा जनस्तरवाट विद्राह हुने र त्यसले ठूलो समस्या ल्याउने स्पष्ट पार्नु भयो ।

यता बिद्युत वितरण केन्द्र तौलिहवाका प्रमुख राजेश कुमार झाले जनप्रतिनिधिसंग छलफल गरेरै काम थालिएको दाबी गर्नु भयो । तर कहाँ र कहिले कुन जनप्रतिनिधि छलफलमा सहभागी भए र सहमति भयो वा भएन त्यसको कुनै स्पष्ट विवरण भने उहाँले खुलाउन सक्नु भएन । उहाँले जनताले काम रोके परियोजना फेल हुन्छ मेरो के जान्छ र ? भन्ने जवाफ दिनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७९ सोमबार ००:००  ६ : २५ बजे