८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कृष्णनगर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन



मायादेवी अनलाइन, बाणगंगा ।
कृष्णनगर भन्सार कार्यालयले बार्षिक लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएको छ । गत आव ०७८/०७९ मा कृष्णनगर भन्सार कार्यालयले ५ अर्व ८१ करोड ४८ लाख बराबरको राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो ।

तर कृष्णनगर भन्सार कार्यालयले असार मसान्तसम्म ५ अर्व ४३ करोड ४४ लाख बराबरको राजश्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा ३८ करोड ४ लाख कम राजश्व उठेको हो ।

कृष्णनगर भन्सारले भन्सार महशुल (आयात), मूल्य अभिवृद्धि कर, अन्तः शूल्क, स्वास्थ्य जोखिम कर, भन्सार महशुल (निर्यात), कृषि सुधार शूल्क, भन्सारको अन्य आय र पूर्वाधार कर शिर्षकबाट राजश्व उठाउने गरेको छ ।

जसमध्ये पैठारी महशुलबाट १ अर्व ६३ करोड १८ लाख बराबरको राजश्व संकलन गर्न सफल भएको छ भने कृषि सुधार शूल्कबाट १ अर्ब १९ करोड २१ लाख बराबरको राजश्व संकलन गरेको छ ।

कृष्णनगर भन्सार कार्यालयका प्रमुख जर्नादन पौडेलले लक्ष्य नजिक पुग्न खोजेपनि लक्ष्य अनुसार राजश्व संकलन नभएको बताए ।

सरकारी निकायले गर्ने पूजीगत खर्च कम भएकाले सिमेन्ट, छडको माग कम हुँदा कच्चा पदार्थको आयातमा कमी आउनू, नाकाबाट धेरै आयात हुने चामल, फलफूल, तरकारीमा कृषि सुधार शूल्क मात्र लाग्ने, भन्सार महशुल नलाग्ने भएकाले राजश्व असुलीमा कमी आएको भन्सार प्रमुख पौडेलले बताए ।

आर्थिक बर्ष ०७७/०७८ मा कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा १०८ प्रतिशत राजश्व उठाएको थियो ।

चालु आव ०७९/८० मा कृष्णनगर भन्सार कार्यालयलाई ७ अर्व ६९ करोड २४ लाख बराबरको राजश्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  ७ : २३ बजे