काठमाडौं ।
कोलम्बियाको राष्ट्रपतीय निर्वाचनमा पहिलोपटक वामपन्थीहरूले विजय हासिल गरेका छन् ।
१९ जून (५ असार) मा सम्पन्न निर्वाचनमा पूर्व विद्रोही एवं लामो समयदेखि संसद् सदस्य (सिनेटर) रहेका गुस्तावो पेत्रोले खसेका मध्येको ५० प्रतिशतभन्दा बढी मत ल्याएका हुन् ।
देशको आर्थिक प्रणालीमा रूपान्तरण ल्याउने नारा बोकेका ६२ वर्षीय पेत्रोले प्रमुख प्रतिस्पर्धी रोडोल्फो हर्नान्डेजलाई सात लाख मतले उछिनेका हुन् । हर्नान्डेजले जम्मा ४७ प्रतिशत मत प्राप्त गरेका छन् ।
पेत्रोको विजयले कोलम्बियाका जनतामा रहेको असन्तुष्टि अभिव्यक्त गरेको विश्लेषण गरिएको छ । पाँच करोड जनसंख्या रहेको कोलम्बियामा गरिबी र असमानता व्याप्त छ। अवसरको कमीका कारण गत वर्ष लाखौं मानिसहरूले सडक प्रदर्शन समेत गरेका थिए ।
“सिंगो देश परिवर्तन खोजिरहेछ”, कोलम्बियाका राजनीतिशास्त्री फर्नान्डो पोसाडा भन्छन्, “निर्वाचन परिणामले त्यही देखाएको छ।”
कोलम्बियाको इतिहास हेर्दा वामपन्थीको यो विजय अझ महत्त्वपूर्ण देखिन्छ ।
सन् १९६४ देखि कोलम्बियामा ‘रेभुल्सनरी आर्म्ड फोर्सेस अफ् कोलम्बिया’ (फार्स) को नेतृत्वमा वामपन्थी सशस्त्र विद्रोह शुरू भएको थियो । दशकौंसम्म चलेको सशस्त्र संघर्षले वैधानिक (संसदीय) वामपन्थीको उदयलाई अप्ठ्यारो बनाएको थियो ।
सन् २०१६ मा फार्सले सरकारसँग शान्ति सम्झौता गरेपछि कोलम्बियामा शान्तिपूर्ण राजनीतिले प्रवेश पाएको थियो ।
राष्ट्रपतिमा निर्वाचित पेत्रो भने ‘एम-१९’ नामक भिन्दै विद्रोही समूहसँग आबद्ध थिए ।
सन् १९९० मा शान्ति प्रक्रियामा आएर राजनीतिक दलमा परिणत भएको उक्त पार्टीले देशको संविधान पुनर्लेखनमा सघाएको थियो ।
राष्ट्रपति पदका दुवै प्रतिपस्पर्धीले आफूलाई संस्थापन विरोधी उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए । पुस्तौंपुस्तादेखि देशमा शासन गरिरहेको राजनीतिक वर्गको विपक्षमा आफूहरू खडा भएको उनीहरूको दाबी थियो ।
विभिन्न अवसरमा उनीहरूले व्यक्त गरेका विचारले उनीहरूले देशको मूल समस्यालाई कसरी लिन्छन् भन्ने बताउँछ ।
राष्ट्रपतिमा निर्वाचित पेत्रोले तेल निर्यातमा अत्याधिक निर्भर रहेको देशको आर्थिक प्रणाली भताभुंग भएको विश्वास गर्छन् । बढ्दो अवैध कोकिन व्यवसायले धनीलाई झन् झन् धनी र गरीबलाई अझ गरीब बनाएको उनी ठान्छन् । उनले थप तेल उत्खनन् रोक्ने, अन्य उद्योगहरूको विकास गर्ने, सामाजिक कार्यक्रम बढाउने र धनीहरूलाई उच्च कर लाद्ने नीतिहरू अघि सारेका छन् ।
आउँदो अगस्टदेखि पेत्रोको कार्यकाल शुरू हुनेछ ।
प्रतिक्रिया