दाङ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यालयमा ताला लगाइएको छ । विगत लामोसमय देखि विद्युत झ्याप झ्याप जाने गर्दा उपभोक्ताहरू मारमा परेको भन्दै स्थानीय युवाहरूले विद्युत प्राधिकरण कार्यालय प्रमुखको कार्यकक्ष र मुख्य ढोकामा ताला लगाएका हुन् । कार्यलयको मूल ढोकामा ताला लगाएसँगै कर्मचारी र कार्यालय प्रमुख कार्यलयको भवन भित्रै थुनिएका थिए ।
केही समयदेखि विना जानकारी पटक पटक विद्युत जाने गर्दा आम उपभोक्ताले निकै सास्ती भोग्नु परेको भन्दै तुलसीपुरका युवाहरूले आइतबार प्राधिकरणको कार्यालयको ढोकामा ताला लगाएका हुन् । विभिन्न वाहनमा अघोषित लोडसेडिङ गर्नुभन्दा तालिका प्रकाशित गरी तथा सूचना जारी गरी विद्युत कटौती गर्न आग्रह समेत गरेका छन् ।
यसअघि प्राधिकरणमा देखिएको समस्यालाई तत्काल समाधान गरी विद्युतीय सेवा नियमित गराउन ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाइए पनि त्यसको कुनै सुनवाई नभएकाले वाध्य भएर कार्यालयमा ताला लगाउनु परेको तुलसीपुर ६ निवासी युवा बसन्त गिरीले बताए । उनले विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण उपभोक्ताहरूलाई समस्या भएको भन्दै आफूहरूको मागको सुनुवाइ नभएपछि ताला लगाएको पनि बताए । उनले भने,‘ विद्युत आउने जाने गर्दा हामी सबैले समस्या भोग्दै आएका छौँ । यसको समाधानको लागि हामीले पहिला पनि ज्ञापन पत्र बुझाएका थियौँ । तर, अहिलेसम्म समाधान नभएपछि बाध्य भएर आज ताला लगाएको हौँ । ’
उनले विद्युतको समस्या बुझ्नको लागि हावाहुरी कारण समस्या भएको भन्दै रेडिमेट जवाफ आइरहने पनि बताए । उनले कार्यालयको फोन सकभर फोन उठ्दैन, यदि उठे पनि हावाहुरीका कारण समस्या भएको भन्ने जवाफ आउँने गर्दछ । के हावाहुरी सधैँभरि लागेको हुन्छ, भन्दै प्रश्न गरे । प्रत्येक ५–५ मिनेटमा विद्युत कटौतीले आम उपभोक्ताहरू निकै समस्यामा परेको तुलसीपुर ६ का अर्का युवा यमलाल सुवेदीले बताए । पटक पटक विद्युत कटौती हुँदा पनि त्यसको समाधानका लागि प्राधिकरणले चासो नदिने र नागरिकको समस्यालाई वेवास्ता गरेको विरुद्ध आफूहरूले तालाबन्दी गरेको उनको भनाइ थियो । उनले आफूहरू कुनै संघसंस्था तथा पार्टीगत रुपमा नभइ आम नागरिकको रूपाबाट नै तालाबन्दी गरेको पनि बताए ।
उनले भने,‘ यदि विद्युत काट्नै नै हो, भने आम नागरिकहरूलाई जानकारी दिएर तालिकासहित काट्नु पर्यो । होइन् भने विना सूचना एक पटक होइन पटक पटक लाइन आउने जाने गर्दा समस्या भएको छ । धेरैको इलेक्ट्रोनिक सामानहरू जलेर नष्ट भएका छन् । एक्कासि बत्ती जान्छ । फेरि आउँदा भोल्टेज धेरै आउँछ । जसले गर्दा समानहरू जल्ने गरेका छन् ।’ तत्काल विद्युतीय सेवामा सुधार नभए थप आन्दोलनका कार्यक्रमहरू सञ्चालन गरिने उनको भनाइ थियो ।
प्रतिक्रिया