इलाम ।
केपी ओली अध्यक्ष भएको नेकपा एमाले र एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादीले आपसमा तालमेल गरेपछि इलाम जिल्ला समन्वय समितिमा नतिजा उल्टाएका छन् ।
इलामको जिल्ला समन्वय समिति प्रमुखमा एमालेका उम्मेदवार र उपप्रमुखमा नेकपा एसका उम्मेदवार विजयी भएका छन् ।
यो गठबन्धनलाई जनता समाजवादी पार्टीले समेत सहयोग गरेको थियो । जिसस प्रमुखमा एमालेका जयप्रकाश राई विजयी भएका छन् । उनले कांग्रेसका विमल वैद्यलाई पराजित गरेका हुन् ।
त्यस्तै उपप्रमुखमा नेकपा एसकी चित्रकला बराइली विजयी भएकी छन् । उनले कांग्रेसकी कमला दाहाललाई पराजित गरेकी हुन् ।
९ सदस्यीय जिससमा एमालेबाट प्रमुखसहित २ खुला र २ महिला सदस्य, नेकपा एसबाट उप-प्रमुखसहित १ दलित महिला सदस्य र १ महिला सदस्य तथा जसपाबाट १ खुला सदस्यमा विजयी भएका छन् ।
जिल्लाका १० पालिकाका २० प्रमुख र उपप्रमुखमध्ये एमाले एक्लैको १० मत थियो। कांग्रेसको ७, नेकपा एसको २ र जसपाको १ मत थियो। एमाले, नेकपा एस र जसपा गठबन्धन हुँदा यो गठबन्धनको १३ मत पुगेको थियो ।
इलाम एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको गृह जिल्लासमेत हो ।
प्रतिक्रिया