८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गठबन्धन आगामी चुनावसम्मै रहन्छ : गृहमन्त्री खाँण



गुल्मी ।

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धनको सरकार संघीय निर्वाचनसम्म नै कायम रहने बताएका छन्।

राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्विनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका हुन्।

मन्त्री खाँणले आयोगलाई गफ कम गरी परिणाम देखिनेगरी काम गर्न पनि निर्देशन दिएका छन्। विगतमा बनेका आयोगहरुले कामभन्दा पनि प्रवचन दिने गरेको टिप्पणी गर्दै मन्त्रीले यस आयोगले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए।

काम गर्ने क्रममा सुरक्षाको ग्यारेन्टी सरकारले लिने भन्दै ढुक्क भएर काम गर्नसमेत उनले आग्रह गरे। भूमिहीनहरूलाई भूमिको मालिक बनाउने यस पवित्र कार्यमा यो त्यो नभनी काम गर्नसमेत उनले आग्रह गरे।

काम गर्न क्रममा बजेट र सुरक्षाको कुनै कमी नहुने भन्दै मन्त्री खाँणले परिणाम देखिने गरी काम गर्न भूमिहीनहरुको समस्या समाधान गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा लुम्बिनी प्रदेशका जिल्लाका पदाधिकारीहरू, आयोगका पदाधिकारी लगायतको उपस्थिति थियो।

प्रकाशित मिति : ४ असार २०७९ शनिबार ००:००  ३ : २७ बजे