८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अन्ततः बाणगंगामा ५ दिने गर्मी बिदा सदर, शिक्षकले गरेको आफुखुसी विद्यालय बन्दको निन्दा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आगामी ५ दिने गर्मी बिदा हुने भएको छ । दिनहुँको चढ्दो गर्मीलाई मध्यनजर गर्दै नगरको बार्षिक शैक्षिक क्यालेण्डर अनुसार बाणगंगामा विहीबार जेष्ठ २६ गते देखि ५ दिने गर्मी बिदा हुने भएको हो ।

नगरपालिकामा बुधबार भएको राजनीतिक दलहरुका प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बीचको छुट्टा छुट्टै छलफल पश्चात बाणगंगामा गर्मी बिदा दिने नगरपालिकाले निर्णय गरेको छ ।

बाणगंगामा गर्मी बिदा दिने कि नदिने भन्नेबारे नगरपालिका र शिक्षकहरु बीच द्धन्द्ध थियो । शिक्षकहरुले नगरपालिकाले गर्मी बिदा दिन आनाकानी गरेको भन्दै बुधबार देखि ६ दिने विद्यालय बन्दको घोषणा गरेका थिए ।

मंगलबार मात्रै शिक्षकहरुको साझा संगठन नगर शिक्षा महासंघ, शिक्षकहरुका विभिन्न संघ, संगठन र प्याब्सन बीच बुधबार देखि ६ दिनसम्म गर्मी बिदा गर्ने सहमति गरेका थिए ।

उक्त सहमति अनुसार बुधबार नगरभित्रका सबै विद्यालय बन्द भएका थिए ।

नगरको अनुमति बेगर बिदा विद्यालय बन्दको घोषणा भएपछि नगरपालिकाले बुधबार सर्वदलिय बैठक बोलाएको थियो ।

बैठकले गर्मी बिदालाई सदर गरेपनि शिक्षकले देखाएको क्रियाकलाप प्रति ध्यानाकर्षण भएको विज्ञप्ति निकालेको छ ।

नगरको अनुमति बिपरीत गरिएको गर्मी बिदाको सन्दर्भमा बुधबार नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले एक पत्र जारि गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

गर्मीको समयमा बालबालिकाको सुरक्षा र संरक्षणका लागि बिदा आवश्यक भएको भनि नगरबाट नै शैक्षिक क्यालेन्डरमा राखि मिति तय गरि सबै सरोकारवालाहरुको सहमतिमा आधिकारिक निर्णय गरि बिदाको निर्णय हुनुपर्नेमा सो भन्दा बाहिर गएर पेशागत घटकको नाममा यस्ता खाले कार्य हुनु पद्धतिको बर्खिलाप भएको भन्दै यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण गराईएको जारि पत्रमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

बाणगंगा नगरपालिकालाई शिक्षकले टेरेनन्, नगरको अनुमती विपरित गर्मी बिदा घोषणा

विद्यालयहरुमा गर्मी बिदाको सन्दर्भमा बाणगंगा नगरपालिकाको ध्यानाकर्षण

प्रकाशित मिति : २५ जेष्ठ २०७९ बुधबार ००:००  ६ : ५१ बजे