काठमाण्डौ ।
काठमाण्डौसहित देशका धेरै ठाउँमा झाडापखालाका बिरामी बढ्दै गएका छन् । दूषित खानेपानी र खानेकुरा तथा फोहरका कारण झाडापखालाको बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् ।
कोरोना महामारीका कारण धेरैसमयसम्म घर भित्रै बसेकाहरु अहिले सङ्क्रमण कम भएसँगै विवाह भोज भतेरमा जाने क्रम बढेको छ । तर विवाह, भोजभतेरमा शुद्ध पिउने पानी तथा सफा र स्वच्छ खानपानमा ध्यान नदिँदा झाडापखालाको जोखिम बढ्दै गएको छ भने सडक छेउछाउमा नछोपी राखिएका खानेकुरा खाँदा पनि झाडापखालाका बिरामी बढेका हुन सक्ने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।
यस्तै, बासी खानेकुरा खाँदा र सरसफाइमा ध्यान नदिएका कारण पनि झाडापखाला देखिएको हुन सक्ने उहाँले बताउनुभयो । अहिले धेरैजसोले जारको पानी पिउने गरेका छन् । तर, कतिपय जारका पानी शुद्ध नहुने भएकाले उमालेर मात्रै पानी पिउन र घरकै सफा र स्वस्थ खाना खान डाक्टरको सुझाव छ । अहिले गर्मीसँगै पानी पनि पर्न थालेकाले झाडापखालाजस्ता सरुवा रोगको जोखिम बढेको छ । अहिले काठमाण्डौ उपत्यकाका धेरैजसो सरकारी अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि पुगेका छन् । यस्तो बेला सामान्य कुरामा ख्याल नगरे हैजासमेत फैलिने जोखिम रहेको डाक्टरको पुनको भनाइ छ ।
छिमेकी देश भारतमा समेत हैजा देखिएकाले खानपान र स्वस्थ जीवनशैली नअपनाए नेपालमा पनि फैलने जोखिम रहेको उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहरका कारण पनि हैजा फैलने जोखिम उच्च रहेको डाक्टरले बताएका छन् । फोहर थुपारेर राखेका ठाउँमा दुर्गन्ध फैलिएको छ । यसबाट किटाणु फैलिन्छ । फोहर नजिकै फलफूल, तरकारी तथा खानेकुरा समेत बिक्री भइरहेकाले यस्ता सामान र खानेकुराबाट किटाणु घरघरमा पुग्ने सम्भावना रहेको डाक्टर पुनले बताउनुभयो ।
फोहरमा भएका झिँगा, साङ्ला, मुसा, कागलगायतको माध्यमबाटसमेत किटाणु फैलन सक्छ। किटाणुबाट मानिसमा सङ्क्रमण भइसकेपछि मानिसको दिसापिसाबको माध्यममार्फत झाडापखाला तथा हैजा जस्ता सरुवा रोग फैलने डाक्टरले बताएका छन् ।
प्रतिक्रिया