८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगा नगरपालिकालाई शिक्षकले टेरेनन्, नगरको अनुमती विपरित गर्मी बिदा घोषणा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका विद्यालयहरुले नगरको स्विकृति बिना नै गर्मी बिदाको घोषणा गरेका छन् ।

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाको अनुमति विपरित बाणगंगामा शिक्षकहरुले विद्यालयमा गर्मी बिदाको घोषणा गरेका हुन् ।

गर्मी बिदा दिने की नदिने भन्नेबारे बाणगंगा नगरपालिका र नगर भित्रका शिक्षक बीच द्धन्द्ध थियो । पटकपटक शिक्षकहरुले गर्मी बिदा गर्न दबाब बढाए पनि नगरपालिकाले बिदा नगर्ने अडान लिए पछि शिक्षकहरुले बुधबार देखि ६ दिने गर्मी बिदाको घोषणा गरे पछि दुबै पक्ष बीच द्धन्द्ध बढेको हो ।

मंगलबार शिक्षकहरुको साझा संगठन नगर शिक्षा महासंघ, शिक्षकहरुका विभिन्न संघ, संगठन र प्याब्सन बीच बुधबार देखि ६ दिनसम्म गर्मी बिदा गर्ने सहमति गरेका थिए ।

उक्त सहमति अनुसार बुधबार नगरभित्रका सबै विद्यालय बन्द भएका छन् ।

शिक्षकहरुले आफुखुसी विद्यालय बन्द गरेपछि बाणगंगा नगरपालिका आक्रोशित बनेको छ । नगरपालिकाले बुधबार नै नगरभित्रका राजनीतिक दल र सबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसंग छलफलका लागि बैठक आह्वान गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरको अनुमति बेगर बाणगंगामा विद्यालय बन्द हुनु दुखत भएको प्रतिक्रिया दिएका छन् । माध्यमिक तहसम्मको शिक्षा नगर मातहत भएको भन्दै कानुनै हातमा लिएर अगाडी बढ्न खोज्नुलाई सोही अनुसार जवाफ दिइने उनले बताए ।

‘बिदाबारे नगरपालिकाले शैक्षिक क्यालेण्डर बनाएको छ । बर्षमा चार पटक बिदा दिने प्रावधान छ । गर्मी बिदाबारे छलफल हुँदै थियो । मंगलबार बिदा गरौं भन्दै शिक्षकहरु नगरपालिका आउनुभएको थियो । मेयर साव तौलिहवा कामले जानु भएको र आए पछि छलफल गरौंला भन्दा भन्दै शिक्षक साथीहरुले पर्खन सक्दैनौं भन्दै उठेर हिड्नुभयो, नगरका प्रमुख प्रशासकीय अधिकृत पन्थीले बिद्यालय बन्द बारे प्रतिक्रिया दिदैं भने,-‘कानुन नै हातमा लिएर के गर्न खोजिएको हो हामी छलफल गर्दै छौं ।’

नगरभित्रका बिद्यालयमा बिदा गर्ने नगरको अधिकार भएको उनको भनाई छ ।

यता बाणगंगाका शिक्षकहरुले नगरपालिकाले गर्मी बिदा दिन अटेरी गरेको आरोप लगाएका छन् । एक शिक्षकले मायादेवी अनलाइनसंग भने,-‘नगरका मेयर, उप-मेयर, हाकिम लगायत एसीमा बस्छन् । उनीहरुलाई के थाहा टिनको छानामुनि विद्यार्थीले पढ्ने गरेको पीडा ? दिनहुँको चर्को गर्मीले विद्यार्थी मारमा छन् । पटक पटक बिदा गरौं भन्दा नगरले मानेन् । नगरले बनाएको क्यालेण्डर अनुसार नै हामीले गर्मी बिदा दिएका हौं ।’

प्रकाशित मिति : २५ जेष्ठ २०७९ बुधबार ००:००  ८ : ३८ बजे