नेपालगञ्ज ।
भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतका ठूला सहरबाट फर्किने नेपालीहरुमा पनि सङ्क्रमण देखिन थालेको छ ।
भारतबाट आउनेहरुमा फेरि कोरोना सङ्क्रमण देखिन थालेपछि मङ्गलबारदेखि यहाँस्थित जमुनाहा नाकामा कडाइ सुरु गरिएको छ ।
पछिल्लो समय भारतमा काम गरेर फर्किनेहरुमा फेरि सङ्क्रमण देखिन थालेकाले मास्क, सेनिटाइजर र भौतिक दूरीलाई लिएर कडाइ सुरु गरिएको जमुनाहा प्रहरीले जनाएको छ ।
जमुनाहा प्रहरीका ईन्चाज वरिष्ठ सइ माधव रिजालले नाकामा आवागमन गर्नेहरुलाई मास्क लगाएर, भौतिक दूरीको पालना गरेर मात्र आवागमन गर्न दिइएको बताउनुभयो ।
उहाँले भारतमा सङ्क्रमण बढ्दै गएको जानकारी प्राप्त भएको र ठूला सहरमा रोजगारी गरेर फर्किने नेपालीमा सङ्क्रमण देखिन थालेकोले मास्क र भौतिक दूरीमा कडाइ गरिएको बताउनुभयो । उहाँका अनुसार नाकामा हुँदै आएको एन्टिजेन परीक्षणलाई पनि वृद्धि गरिएको छ ।
भारतबाट फर्किने व्यक्तिमा निगरानी बढाएरको र शङ्का लागेका एन्टिजेनमार्फत कोरोना परीक्षण गर्ने कार्य भइरहेको नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ ।
नाकामा पुनः सङ्क्रमित भेटिन थालेपछि यसबारे सेचतना फैलाउन नेपाल स्वास्थ्यकर्मी सङ्घ बाँकेले सङ्घको ३१ औं स्थापना दिवसको अवसर पारेर मङ्गलबार बाँकेमा कोभिड सचेतीकरण कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिक्रिया