काठमाडौं ।
चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्णाण सम्पन्न गर्नका लागि सरकारले समन्वय र सहजीकरण गर्ने भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण सम्पन्न गर्न नसकेपछि बिचमै छाडेको थियो । फाउन्डेसनले बिचैमा छाडेपछि त्यसको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भनेको थियो । मंगलबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त रंगशाला निर्माणका लागि सहजीकरण र समन्वय गर्ने भनिएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘‘चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी कामलाई टुंगोमा पुर्याउन समन्वयत र सहजीकरण गरिने छ ।’’
सरकारले धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण काम पनि सुरु गर्ने जनाएको छ । त्यस्तै नवलपरासीको गौडाकोटमा पनि बीपी कोइराला अन्तर्राष्ट्रिय खेलग्राम बनाउने जनाइएको छ ।
सरकारले आधरभूत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडी प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरिने जनाएको छ । त्यस्तै खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा खेलमा सहभागिता हुने अवसर उपलब्ध गराउने जनाएको छ ।
नीति तथा कार्यक्रममा सरकारले मापदण्ड बनाई खेलाडीलई पुरस्कार, भत्ता, विमा तथा आवश्यक सहयोग लगायतका प्रोत्साहनको व्यवस्था गरिने जनाइएको छ । त्यस्तै प्रत्येक विद्यायलमा खेलकुद क्लब स्थापना गरिने सरकारले जनाएको छ ।
त्यस्तै सरकारले सहासिक तथा पर्वतीय खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको छ । प्रत्येक प्रदेशमा कम्तीमा एक प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिँदै जाने निती लिइने सरकारले जनाएको छ ।
उच्च भूभागमा खेल तालिमको व्यवस्था गर्ने जनाइएको छ । सबै स्थानीय तहमा खेल ग्राम निर्माण गर्ने र खेलकुद विश्व विद्यालयको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ ।
प्रतिक्रिया