८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

महादेव पोख्रेलको आक्रोशः ‘राजा फाल्न जनयुद्ध गरेकाले पनि हलोमा भोट हाले’



मायादेवी अनलाइन, बाणगंगा ।
शिवराज नगरपालिकाको नगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका महादेव पोख्रेल आक्रोशित रुपमा प्रस्तुत भएका छन् ।

शनिबार नगरपालिकाको उपप्रमुखमा निर्वाचित शिवकुमारी थारुको पक्षमा निकालिएको विजय जुलुसको समापनशस्त्रमा बोल्दै पोख्रेलले आफ्नो पार्टीबाटै आफुलाई हराउन भूमिका खेलेको दाबी गरे ।

आफुलाई हराउनेलाई गद्धारको संज्ञा दिएका पोख्रेलले जस्ले जे भूमिका खेलेर हराए पनि आफु एमालेको भने सधैं मेयर भएको बताए । निरास कार्यकर्तालाई सान्त्वना दिदैं पोख्रेलले मनोवल उच्च पार्ने कोशिस गरेका थिए ।

‘शिवराजवासीको अपार माया हुँदा हुँदै आफु भित्रबाटै मलाई हराइयो, ‘उनी आक्रोशित भावमा प्रकट हुँदै भने, ‘राजावादीलाई भोट दिएर मलाई हराए । जसको कुनै सिद्धान्त छैन्, कम्युनिष्टको कुनै आचारण छैन् । खबरदार गद्धारहरु म हारेपनि एमालेको सधैं मेयर भएर प्रस्तुत हुनेछु ।’

आफुलाई आफ्नैले नहराएको भए कसैको शक्तिले हराउन नसक्ने उनले दाबी गरे । आफुलाई हराउन सारा शक्ति लागेको पनि उनले जनाए ।

साथै उनले माओवादीलाई हलोमा मतदान गरेर जिताउन भूमिका खेलेको पनि उनले आरोप लगाए ।

उनले भने, ‘जसले १२ बर्ष युद्ध त्यहीँ राजा फाल्नलाई गर्‍यो, अहिले त्यही हलोमा भोट हालेर राजावादी बने, खबरदार तिमीहरुलाई ! यो ठाउँमा पनि तिमीहरुको केहीँ चल्नेवाला छैन्, तिमीहरु मात्र दुई चार हजारका मान्छे भएका छौं ।’

राप्रपाले शिवराजमा जितेपनि काम गर्न नसक्ने पोख्रेलले दाबी गरे ।

‘आज जुन पार्टीले जितेको छ त्यो पार्टीले एउटा सदस्य पनि जिताउन सकेको छैन् । उनले प्रश्न गर्दै भने, ‘एउटा व्यक्तिले नगर कसरी हाक्न सक्छ ? सक्दैन्, किनभने उनीहरुको उद्धेश्य यो नगरको भविष्य उज्जवल गराउने होइन्, भविष्य अन्धकार गराउने थियो, त्यो सफल भए ।’

उनले चेतावनी दिदैं भने, ‘खबरदार ! तिमीहरुले गर्ने गलत क्रियाकलापका विरुद्ध म खरो रुपमा उत्रने छु ।’

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा पोख्रेल राप्रपाका अजय थापासंग ४ सय ७४ मतान्तरले पराजित भएका थिए । पोख्रेलले ७ हजार १ सय २८ मत पाउँदा थापाले ७ हजार ६ सय २ मत ल्याएर विजयी भएका थिए ।

शिवराज नगरपालिकामा एमालेले उपमेयरसहित ३ वडामा जित निकालेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९ आइतबार ००:००  ८ : ५३ बजे