दीपा महत, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा एमाले भित्र ठूलो विद्रोह भएको छ । आसन्न बैशाख ३० गते हुन गइहेको स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा विभेद भएको भन्दै प्रभावशाली नेताहरुले नै विद्रोह गरेका छन् ।
आसन्न बैशाख ३० गते हुन गइहेको स्थानीय तहको निर्वाचन अन्तरर्गत सोमबार उम्मेद्वार मनोनयनको अन्तिम समयसीमा तोकिएको थियो ।
अधिकांश स्थानीय तहमा आइतबार मात्र उम्मेद्वार टुङ्ग्याएको एमाले कपिलवस्तुले सोमबार विद्रोहको रापलाई केही गरि छेक्न सकेन् । सोमबार सबैभन्दा आगाडी मनोनयन दर्ताका लागि गहेजडामा रहेको निर्वाचन कार्यालयमा पुगेको एमाले वाणगंगाको टोली साँझसम्म नमिठो गरि विद्रोहको भूमरीमा थिचिएको छ ।
सबैभन्दा अगाडी मनोनयन दर्ता गराए पनि साँझसम्म पार्टी छाड्दै स्वतन्त्र उम्मेद्वारी दिने नेताहरुको संख्या एमालेमा बढेका छन् ।
मेयरको तीव्र आकांक्षा राखेका एमाले लुम्बिनी प्रदेश स्तरिय नेता जञ्जिर प्रसाद थारुले स्वतन्त्र मेयरमा उम्मेद्वारी दर्ता गराएका छन् । भलवाड निवासी थारु एमाले भित्रका प्रभावशाली थारु समुदाय भित्रका नेता हुन् । गएको स्थानीय तहमा पनि मेयरको आकांक्षा राखेका थारुले यो पाली तिव्र इच्चा राख्दै आएका थिए । तर, पार्टीले उनलाई टिकट नदिए पछि स्वतन्त्र रुपमा थारुले उम्मेद्वारी दर्ता गराएका छन् ।
पार्टी भित्रबाट नसहने गरि अपमान भएकाले विद्रोह गर्नुपरेको उनले मायादेवीसंग छोटो प्रतिक्रियामा बताए । उनले आफ्नो अन्तिम राजनीति जीवनको लागि पनि संघर्ष गरेको प्रतिक्रिया दिए । अब राजनीतिमा विश्राम लिएर आराम गर्ने सोच आफुले बनाएको उनले जनाए ।
एमाले भित्रै लोकप्रिय नेता नेत्र गिरीले पनि एमाले परित्यागको घोषणा गर्दै वडा नं. ७ बाट स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । दलबलसहित निर्वाचन कार्यालय पुगेका गिरीले स्वतन्त्र प्यानल खडा गर्दै वडाध्यक्षसहित ५ वटै वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् । गिरीको समर्थनमा एमालेका प्रभावशाली नेताहरु समेत रहेका छन् । निकै भावुक विज्ञप्ति निकाल्दै एमाले छाडेको उनले घोषणा गरेका छन् ।
गिरी ०४३ सालकै जनपक्षिय वडाध्यक्ष भएका नेता हुन् । झण्डै १९ बर्षको उमेरमा गिरीले साविक मोतीपुर गाविसको वडाध्यक्षमा जनपक्षिय उम्मेद्वार बनि चुनाव जितेका थिए । पछि बहुदल स्थापना पछि ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनले मोतीपुर गाविसमा चुनाव जिते । विपक्षी उम्मेद्वारलाई उनले भारी मतले पराजित गरि उनले चर्चा बटुलेका थिए ।
गाविसलाई कपिलवस्तुमा उत्कृष्ट बनाउँदै लगेका गिरी ०५४ सालको निर्वाचनमा पुनः गाविस अध्यक्षमा निर्वाचित भए ।
गएको ०७४ को स्थानीय तहको निर्वाचनमा गिरीलाई एमालेले जिल्ला समन्वय समितिको सभापति बनाउने गरि वडा सदस्यमा उठाएको थियो । वडा सदस्य बनेर जिसस सभापतिको उम्मेद्वार बनेका गिरी ३ मतले पराजित भएका थिए । एमालेका पालिका प्रमुख र उप-प्रमुख कम निर्वाचित भएको कारण गिरी पराजित हुन पुगेका थिए ।
सिंगो मोतिपुरको दुई/दुई कार्यालय अध्यक्ष भएर चलाएका गिरी अहिलेको निर्वाचनमा वडाध्यक्षको प्रमुख दाबेदार थिए । साविक मोतिपुर हाल दुई वडामा विभाजन भएको छ । तर पनि गिरीले वडाध्यक्ष हुने चाहना राखे पनि एमालेले टिकट दिएन् । यहाँ पुनः वडाध्यक्षमा विष्णु गिरीलाई दोहो¥याउने गरि एमालेले टिकट दिएको छ ।
सिंगो जीवन एमालेमा विताएका गिरी पनि उत्तिकै भावुकता थिए । कार्यकर्ताको दरिलो समर्थन पाए पनि उनको मनमा खुसी थिएन् । एमालेलाई वाणगंगामा यहाँसम्म ल्याउनुमा उनको ठूलो लगानी छ । सिंगो मोतीपुर एमालेको गड जस्तै हो । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी गठबन्धन हुँदा पनि साविक मोतिपुरका दुई वडा (वडा नं. ७ र ८) मा एमालेले पुरै प्यानल जितेको थियो ।
एमालेमा विद्रोह भलवाडमा पनि देखिएको छ । ०५४ सालमा भलवाड गाविसका अध्यक्ष भएका कुमार मधु बेल्वासेले पनि एमाले छाडेर गठबन्धनबाट वडाध्यक्षका लागि उम्मेद्वारी दिएका छन् । वाणगंगामा माओवादी, समाजवादी, जनमोर्चा र जसपा बीच चुनावी गठबन्धन बनेको छ । भलवाडमा यहीँ गठबन्धनबाट बेल्वासेले टिकट पाएका छन् । उनले गोलाकार भित्रको हसिया हथौडा चुनाव चिह्न लिएर वडाध्यक्षमा उम्मेद्वारी दिएका हुन् । भलवाडको वडाध्यक्ष बन्न कसरत गर्दै आएका बेल्वासेलाई एमालेले अन्तिम समयमा टिकट नदिदा उनमा विद्रोहको स्वर देखिएको हो ।
यता वडा नं. २ मा पनि एमाले भित्र विद्रोह देखा परेको छ । एमाले वाणगंगा नगर कमिटीका उपाध्यक्ष समेत रहेका मुक्त बहादुर कार्की एमालेबाटै मुक्त भएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै एमाले छाडेको घोषणा गरेका छन् । कार्की वडाध्यक्षको आकांक्षी थिए । उनले वडाध्यक्षमा टिकट नपाए पछि पार्टी मात्र छाडेनन् वडाध्यक्षमा चुनौती दिदै स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् ।
एमालेमा यति मात्रै होइन् टिकट वितरणमा तिव्र असन्तृष्टि राख्ने नेता प्रभावशाली देखिएका छन् । एमालेका पूर्व अध्यक्ष झविलाल पोख्रेल, कृष्ण पौडेल लगायतका नेताहरुले पार्टीका विभिन्न जिम्मेवारीबाट राजीनामा बुझाएको जनाइएको छ ।
एमालेमा सोमबार देखिएको विद्रोहको झल्कोले आसन्न बैशाख ३० को निर्वाचनमा गम्भीर असर पर्ने देखिएको छ । यहाँ मेयरमा चक्र अर्याल र उप उपमेयरमा रिता थारुले उम्मेद्वारी दर्ता गराएका छन् । अर्याल निवर्तमान उप-मेयर हुन् ।
प्रतिक्रिया