८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तु नगरमा गठबन्धन नहुने सम्भावना बड्यो, माओवादीले चुनावी घोषणा पत्र नै सार्वजनिक गर्‍यो



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुमा ५ दलीय गठबन्धनको सम्भावना न्यून बन्दै जादा कपिलवस्तु नगरपालिकामा पनि यसको सम्भावना देखिन छाडेको छ ।

कपिलवस्तु नगरमा माओवादी केन्द्रले आफ्नो उम्मेद्वार बनाएर चुनावी प्रचार प्रसार थालिसकेको छ । ०७४ सालमा कांग्रेसले मेयर र उपमेयर नै जितेको यस नगरमा यो निर्वाचनमा चुनाव जित्ने माओवादीले दाबी गर्दै आएको छ ।

गठबन्धन हुँदा पनि कपिलवस्तु नगर नछाड्ने अडान राख्दै आएको माओवादीले शनिबार चुनावी घोषणापत्र नै सार्वजनिक गरेको छ ।

तौलिहवामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कपिलवस्तु नगर समितिले स्मार्ट नगर, वार्ड वार्डमा एम्बुलेन्स र दमकल देखि पत्रकारलाई संरक्षण गर्ने लगायतका प्रतिबद्धता सहितको घोषणा पत्र माओवादीले जारी गरेको हो ।

घोषणा पत्र सार्बजनिक गर्दै माओवादी केन्द्र कपिलवस्तु नगरपालिकामा नगर पमुखका उम्मेद्धार शत्त्रुधन चौधरीले नगरमा जनतालाई बिचमा राखेर आफुले काम गर्ने बताए । उनले आफु अस्पताल विकास समितिको अध्यक्ष हुँदा अस्पतालको स्तर उन्नती, भवन निमार्णको काम गर्नुका साथै जनता आवास कार्यक्रमको नेतृत्व गरेर कार्य गरेको बताए । आफु नगर प्रमुख भए पश्चात सबैसंग सहकार्य कार्य गर्ने उनले बताए ।

पार्टीका प्रदेश सदस्य बिष्णु बेल्बासेले कपिलवस्तु नगर देशकै पुरानो र पिछडिएको पालिका भएको बताए । उनले कपिलवस्तु नगरमा हाल सम्म बिभिन्न पार्टी र शक्तिको नाममा जमिन्दारहरुले शासन गरेकोले नगरको विकास हुन नसकेको बताए । देशका उत्कृष्ट १० स्थानिय तहलाई हेर्ने हो अधिकांशमा माओवादीले नेतृत्व गरेको पालिका उत्कृष्ट रहेको बताउदै माओवादी केन्द्रले आफ्ना प्रतिबद्धताहरुलाई जनताको बिचमा जाने बताए ।

पार्टीले कपिलवस्तु नगरपालिकामा नगर प्रमुख सहित सम्पुर्ण उम्मेद्धारहरुलाई जिताउने गरि अभियान संचालन गरेको माओवादीका बैकल्पिक केन्द्रिय सदस्य जित बहादुर चौधरीले बताए । उनले माओवादी केन्द्र परिवर्तनको संघीयता, समावेशिता, पिछडिएको समुहदायको हक अधिकार संबिधान लेखाएको शक्ति भएकै पछिल्लो समयमा जनताको क्रेज बढ्दै गएको दक्षिण क्षेत्रमा बिगतमा धेरै बलियो भएको बताए ।

यस्ता छन् घोषणापत्रमा उल्लेखित २३ बुँदा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तु नगर समितिका प्रतिबद्धताहरुः

१- सयौँ बर्षदेखि पिछडिएको कपिलबस्तु नगरपालिकालाई स्मार्ट नगरपालिका बनाउने ।
२- माध्यामिक तह कक्षा (१-१२) सम्म निशुल्क शिक्षा कार्यान्वयन गराईने छ । मेडिकल कलेज स्थापना गराउने, मदरशा शिक्षालाई प्रोत्साहन गर्न शिक्षक अनुदान सम्बन्धि व्यवस्था गराईने छ । ५ बर्ष भित्रमा सुविधा सम्पन्न कन्या कलेज स्थापना गराईने छ ।
३- नागरिकता, विद्युत, खानेपानी, लगायतका विभिन्न सिफारिसहरुमा लाग्दै आएको कर छुट गराईने छ । ५ बर्ष भित्र प्रत्येक वडामा १/१ एम्बुलेन्स तथा दमकलको व्यवस्था गराईने छ ।
४- कपिलवस्तु नगरपालिकामा अव्यवस्थित बसोबासको रुपमा रहेका भूमिहिन दलित, विपन्न सीमान्तकृत एवम सुकुम्बासीलाई प्रचलित कानुन बमोजिम लाज पूर्जा वितरण गराईने छ ।
५- जिल्ला तथा नगरपालिका भित्र रहेका पर्यटकिय एवम पुरातात्विक सम्पदाहरु, तिलौराकोट, कुदान, गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट, जगदीशपुर ताल लगायतका सम्पदाको बृहत्तर विकासका लागि कपिलवस्तु विकास कोष गठन गरिने छ ।
६ – तौलिहवाको बीच भागमा रहेको तौलेश्वनाथलाई राष्ट्रिय सम्पदा घोषणा गराईने छ ।
७- कपिलवस्तु नगरपालिकामा भएका होमस्टेलाई स्तरोन्नति गर्ने नभएको ठाउँमा स्थापना गराई पर्यटन प्रर्वद्धनमा टेवा पुराईने छ ।
८- कपिलवस्तु बहुमुखि क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आँगिक क्याम्पस बनाउन आवश्यक पहल गरिने छ साथै सोही क्याम्मसमा कानुन र इन्जिनियरिङ अध्ययनका लागि अनुदानको व्यवस्था गरिने छ ।
९- बेरोजगारी समस्यालाई समाधान गर्न घरेलु उद्योगमा अनुदान व्यवस्था गर्ने, मझौला तथा ठुला उद्योग नगरपालिकाकै स्वामित्वमा स्थापना गराई बेरोजगारी समस्या न्यूनिकरण गरिने छ ।
१०- कपिलवस्तु नगरपालिका भित्र पुरातात्विक अधिग्रहण तथा सडक अधिग्रहणमा परेका नगरबासीलाई प्रथामिकतामा राखेर राहत अनुदान उपलब्ध गराईने छ ।
११- कपिलबस्तु नगरपालिकामा कक्षा ११ १२ मा सर्बोत्कृष्ट ग्रेड नम्बर ल्याउने मेधावी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि निशुल्क छात्रवृत्ति दिईने छ । “बेटी पढावे शिक्षित बनावै” शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याईने छ ।
१२- व्यावसायीक रुपमा कृषिमा सँलग्न कृषकलाई निशुल्क मल, खाद तथा बीउ बीजनको लगायत आवश्यक सिंचाईको सुविधा उपलब्ध गराउने छ ।
१३ – सडक विस्तार एवम निर्माण कार्यलाई अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन गरी ३ चरणमा राखेर प्राथमिकताका आधारमा निर्माण एवम स्तारोन्नति गरिने छ ।
१४- नगर भित्र निर्माण हुने सम्पूर्ण नागरिकहरुका घरका नक्सा निशुल्क रुपमा वडा कार्यालयबाट निर्माण गराई सेवा प्रवाह गराईने छ ।
१५- कपिलवस्तु नगरपालिकामा बाल मनोरन्जनका लागि बाल उद्यान तथा राष्ट्रिय स्तरको खेल मैदान निर्माण गरिने छ ।
१६- शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा नेपाल सरकारले निर्धारण गरे बमोजिम नै बजेट विनियोजन गराई शिक्षा स्वास्थ्य तथा खानेपानीलाई प्रथामिकतामा राखिने छ ।
१७- बृद्ध भत्ता एवम विधवा भत्तालाई घर घरमा वितरण गर्ने व्यवस्था गराउने, न्यून आय स्तर भएका एवम गरीब परिवारका प्रत्येक सुत्केरी महिलालाई पोषण भत्ता स्वरुप ५ हजार उपलब्ध गराईने छ ।
१८- महिला स्वास्थ्य स्वमसेवकहरुको पाँच लाखसम्मको दुर्घटना विमा गराईने छ ।
१९- कपिलवस्तु नगरपालिका भित्र क्रियाशील एवम नेपाल पत्रकार महासंघमा सुचीकृत पत्रकारहरुको ५ लाखसम्मको दुर्घटना बीमासहित न्यूनतम मासिक पारिश्रमिक (सूचना प्रवाहका आधारमा) उपलब्ध गराईने छ ।
२०- स्थानीय कला सँस्कृति परम्पराको सँरक्षण गर्दै यहाँका लोपउन्मुख नृत्य, कला सँस्कृतिको एवम सँरक्षण गरिने छ ।
२१- गरीब, विपन्न, सीमान्तकृत एंव भूमिहिन सुकुम्बासी समुदायका लागि जनता आवास कार्यक्रम ल्याईने छ ।
२२- सरकारी अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई सर्वसुलभ गराई प्रयोगशालाबाट उपलब्ध हुने अधिकतम सेवा निशुल्क गराइने छ ।
२३- शाक्यमुनि बुद्धलिन कपिलवस्तुको कालानमक चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन धान, चामल उत्पादक कृषकहरुलाई अनुदानसहित प्रोत्साहित गर्दै चामलको व्रान्डिङ गरिने छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ९ : ५४ बजे