बुटवल ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको बताउँदै यसविरुद्ध पत्रकार महिलाहरु अभियानका रुपमा लाग्नुपर्ने बताएका छन् । संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै शेरचनले समाजमा भएका लैंगिक हिंसा र असमानता विरुद्ध निरन्तर समाचार लेख्न सञ्चारकर्मीलाई सुझाब दिए । पत्रकार महिलाले फरक खालका समस्या भोग्नुपर्ने र व्यवसायमा निरन्तरता दिन समस्या पर्ने भएकाले उनीहरुको सीप र क्षमता विकासमा राज्यले लगानी गर्नुपर्ने पनि उनले बताए ।
कार्यक्रममा प्रदेश कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको दरिलो उपस्थिति हुनुपर्ने बताइन् । उनले संविधान अनुसार शासन सत्तादेखि सरकारका हरेक संरचनामा महिलाको संख्या बढाउन, महिला मैत्री नीति कार्यक्रम ल्याउन पत्रकार महिलाहरुले संचारबाट वकालत गर्न समेत आग्रह गरिन् ।
लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले संविधानले महिलालाई दिएको अधिकार समेत खोस्ने काम भएको बताउँदै त्यसका विरुद्ध आवाज उठाउन आग्रह गरिन् । उनले गठबन्धनका नाममा स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एक महिला हुने अवसर खोसिन लागेको बताउदै रोक्न पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताइन् ।
प्रतिक्रिया