८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुको वाणगंगामा नेकपा (एस) ले भट्टराईलाई उप- मेयरमा उठाउने



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) ले कपिलवस्तुको वाणगंगा कमल भट्टराईलाई उप-मेयरमा उठाउने भएको छ । एकीकृत समाजवादीको नगर कमिटी बैठकले आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भट्टराईलाई उप- मेयरमा उठाउने गरि जिल्लामा सिफारिस गरेको हो ।

बैठकले नगरका सबै वडामा उम्मेद्वार दिएर चुनावी प्रक्रियामा भाग लिने तयारी गरेको छ । वडाका लागि उम्मेद्वार छनौट गरेर जिल्ला पार्टीमा सिफारिस गरेको समाजवादीका नगर अध्यक्ष दिपक पन्थीले जानकारी दिनुभयो ।

आइतबार उम्मेद्वार दर्ता गर्ने समयसम्म कुन वडामा को उठ्ने भन्नेबारे टुंगोमा पुगिने अध्यक्ष पन्थीको भनाई छ ।

समाजवादीबाट नगरको उप-मेयरमा उठ्न थालेका भट्टराई पार्टीका जिल्ला उप-सचिव हुन् भने नगर इन्चार्जको भूमिकामा छन् । युवा माझ लोकप्रिय मानिने भट्टराई अनेरास्ववियूको राजनीतिबाट उदाएका नेता हुन् ।

भट्टराई २०५५ साल देखि कम्युनिस्ट विद्यार्थी राजनीतिमा संलग्न भई जिल्ला कै सबैभन्दा ठुलो क्याम्पस सिद्धार्थ क्याम्पस बाणगंगामा २०६२ सालमा अनेरास्ववियूबाट स्ववियु सभापति भएका थिए ।

अनेरास्ववियूको जिल्ला कमिटीको विभिन्न तहमा नेतृत्व गर्दै लुम्बिनी अञ्चल कोषाध्यक्ष, अध्यक्ष हुँदै २०६७ मा अनेरास्ववियूको २० औ केन्द्रीय सम्मेलनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

भट्टराईले प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटीमा पनि २ कार्यकाल काम गरेर अनुभव सम्हालेका छन् ।

नेपाल फर्के लगत्तै नेकपाको जिल्ला तहको विभिन्न विभागमा काम गरे भट्टराई एमाले विभाजन पछि एकीकृत समाजवादीमा आवद्ध भएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  १ : ४८ बजे